प्रकाश न्यौपानेभैरहवा । बुटवलकी एलिना खातुन भैरहवाको सिद्धार्थनगर नगरपालिका–२ मा रहेको बहिरा बाल माध्यमिक विद्यालयमा अध्ययनरत छिन् । उनले दैनिक सार्वजनिक यातायात प्रयोग गरी विद्यालय आउजाउ गर्छिन् । तर, बसमा यात्रा गर्दा अनेक दुःख–कष्ट सहनुपर्छ । गाडीमा ठेलमठेल हुन्छ । कैयौंपटक बसले ढिलो गर्दा विद्यालय आइपुग्दा ११ बजिसकेको हुन्छ । कान नसुन्ने र बोल्न नसक्ने भएकाले उनीहरुमाथि अन्य यात्रुलाईभन्दा फरक व्यवहार हुन्छ । बसले विद्यार्थीलाई दिइने छुट दिनुपर्छ भनेर दुईजना भन्दा धेरै चढाउँदैनन् । ‘अन्य यात्रुलाई भन्दा हामीलाई फरक व्यवहार गर्छन्, बोलीचाली भिन्दै हुन्छ । अपमानजनक व्यवहार गर्छन्’, उनले भनिन् ।
खातुन जस्तै बुटवलबाट आउजाउ गर्ने विद्यार्थी ५३ जना छन् । यो समस्या सबैले व्यहोर्नुपर्छ । सधै सार्वजनिक यातायात चढेर विद्यालय आउजाउ गर्दा अभद्र व्यवहार सहँदै आएका विद्यार्थीहरुले अब भने यसबाट छुटकारा पाउने भएका छन् । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले विद्यालयमा बस सहयोग गरेपछि विद्यार्थीहरु हर्षित छन् । ‘अब विद्यालयको आफ्नै बस भएपछि त्यसैमा चढेर आउजाउ गर्छाैं । यसले घण्टौं पर्खेर यात्रा गर्नुपर्ने बाध्यतासँगै गाडीवालाबाट हुने अपमानजनक व्यवहार सहनु पर्दैन’, बहिरा बाल माविमा अध्ययनरत बुटवल कालिकानगरका सुशील कनौजेले भने ।
सार्वजनिक यातायातमा ओहोरदोहोर गर्न विद्यार्थीलाई निकै समस्या छ । सिट नपाउने, विद्यार्थी छुट दिनपर्छ भनेर गाडी नै नचढाउने यातायात सञ्चालकले गर्ने व्यवहार हो । अझ फरक क्षमता भएका विद्यार्थीलाई त गाडी चडेर विद्यालय जानै मुस्किल छ । छात्राहरुलाई गाडीवालाले कुदृष्टिले हेर्छन्, अभद्र व्यवहार गर्छन् । यस्तै, समस्या लामो समयदेखि भोगिरहेका थिए– बाल बहिरा माविका विद्यार्थीले । यसलाई सहजता ल्याउन मन्त्रालयले बस सहयोग गरेको हो ।
आफ्ना छोराछोरी र विद्यार्थी आउजाउ गर्न समस्या खेप्दै आएपछि अभिभावक र विद्यालयका शिक्षक–शिक्षिका चिन्तित थिए । अपांग विद्यार्थीहरुमाथि बसमा हुने अभद्र व्यवहारले उनीहरुलाई समेत पीडा भएको थियो । १ सय ८९ जना विद्यार्थी अध्ययनरत विद्यालयमा बस सञ्चालन आएसँगै विद्यार्थीमा जस्तै अभिभावक र विद्यालयका शिक्षक–शिक्षिकामा समेत खुशी थपिएको प्रधानाध्यापक दिलमाया थापाले बताउनुभयो । ‘सबैभन्दा अभद्र व्यवहार छात्राहरुले भोग्दै आएका थिए, गाडीवालाले उनीहरुमाथि अपशब्द बोल्ने, अरुलाई भन्दा फरक व्यवहार गर्ने गर्थे’, थापाले भन्नुभयो, ‘एकैपटक गाडीमा नचढाउँदा घर पुग्दा रात नै पथ्र्यो । यसले अभिभावक र हामीलाई निकै चिन्ता थपिएको थियो । बस सञ्चालन आएसँगैसबै समस्या हल भएको छ ।’
अभिभावक सरस्वती बस्नेतले छोरा विद्यालय पुग्यो की पुगेन ? कतिबेला फर्किन्छ ? भन्ने चिन्ता मात्रै आफूमा हुने गरेको बताउनुभयो । उहाँका तीनवटै छोरा बहिरा छन् । ‘सबैभन्दा समस्या गाडीले एकैपटक चढ्न नदिने थियो, सरकारले बस सहयोग गरेपछि ढुक्क भएँ, अब आउजाउ गर्न छोराहरुलाई समस्या हुनेछैन, मेरो मनमा रहेका चिन्ता मेटिएका छन्’, उहाँले भन्नुभयो । प्रदेश ५ मा दृष्टीविहीन, बहिरा, अन्य अपांग तथा सुस्त मनिस्थिति भएका विद्यार्थीहरुले अध्ययन गर्ने ५१ वटा विद्यालय छन् । यी विद्यालयहरुलाई स्तरोन्नती गरी नमूना विद्यालय बनाउने सामाजिक विकास मन्त्रालयले योजना बनाएको मन्त्री सुदर्शन बरालले बताउनुभयो । ‘हामी फरक क्षमता भएकाहरुलाई पनि धेरै कुरामा सक्षम बनाउन चाहन्छौं, उनीहरुमाथि हुने अभद्र व्यवहार रोक्न चाहन्छौं’, उहाँले भन्नुभयो, ‘त्यसैले प्रदेशभित्र रहेका फरक क्षमता भएका विद्यार्थीले पढ्ने विद्यालयको विकासमा लागेका छौँ ।’ मन्त्री बरालले बस शुभारम्भ गर्दै विद्यार्थीसँगै बसमा बसेर विद्यालयको मैदान वरिपरी यात्रा गर्नुभएको थियो ।
मन्त्रालयको ३० लाख र विद्यालयको ३ लाख ५० हजार गरी ३३ लाख ५० हजारमा खरिद गरिएको बस सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको हो । यसअघि विद्यालयमा बस भए पनि २० औं वर्ष पुरानो थियो । यसले विद्यार्थीलाई ल्याउन लैजान समस्या थियो । बस हस्तान्तरण कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले विद्यालयको स्तरोन्नती र विद्यार्थीहरुको समस्या समाधान गर्न आफू सधैँ कटिबद्ध भएर लाग्ने बताउनुभयो । समाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवाली, प्रदेश पाँच शिक्षाका निर्देशनालयका निर्देशक मनोज गैरेले यस्ता विद्यालयलाई निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो ।
व्यवस्थापन समिति सदस्य एवं पूर्व प्रधानाध्यापक खगराज पाण्डे र शिक्षक शंकरप्रसाद आचार्यले अझै विद्यालयमा धेरै संरचना निर्माण गर्न बाँकी रहेकाले मन्त्रालय र स्थानीय तहलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो । मन्त्रालयको बस सहयोगसँगै फरक क्षमता भएका विद्यार्थी, उनका अभिभावक र विद्यालयमा खुशी छाएको छ । विद्यालयमा कक्षा १ देखि कक्षा १२ सम्म पढाई हुन्छ । यहाँ ३३ जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् । रुपन्देही बाहिरका विद्यार्थीलाई राख्न होस्टेल सञ्चालन गरिएको छ । बस दैनिक रुपमा विद्यार्थी बोकेर बुटवल आउजाउ गर्ने विद्यालयले जनाएको छ ।