आशिष बहादुर सिंह बझाङ । सुदूरपश्चिम प्रदेशको गौरवकै योजना मानिएको बझाङको बुंगल क्षेत्रमा रहेको कालंगागाड हाइड्रोपावरको फिल्ड कार्यालयमा तोडफोड भएको छ ।
असार १६ गते हाइड्रोपावरका जेसीबी चालक माधव बोहरालगायत अन्य व्यक्तिले बुंगल नगरपालिका–२, बस्तीकी २० वर्षीया ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले हाइड्रोपावरको फिल्ड कार्यालयमा तोडफोड गरेका हुन् ।
स्थानीयले हाइड्रोपावरका झण्डै १० वटा गाडीमा क्षति पुर्याएको कालंगा हाइड्रो पावरका संस्थापक विरेन्द्र मल्लले बताउनुभयो । विद्यार्थी र स्थानीयले हाइड्रोपावरको कार्यालय तोडफोड गरेका हुन् ।
मृतक किशोरीका बुबा कलक धामीले भने आफूहरुले स्थानीयलाई तोडफोड नगर्न सुझाएको बताउनुभएको छ । आफूहरु छोरीको शव लिएर सदरमुकाम चैनपुर गएको र कस्ले किन तोडफोड गरेको हो, जानकारी नभएको स्पस्ट पार्नुभयो ।
बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हाइड्रोमा क्षति पु¥याउने घटनामा संलग्नलाई कारबाही गरिने बताउनुभयो । उहाँले हाइड्रोको सुरक्षाका लागि थप प्रहरी टोली खटाइएको उल्लेख गर्नुभयो । हाइड्रो पावर तोडफोड गर्ने समयको सिसिटिभी फुटेज भएकोले त्यसमा संलग्नको पहिचान गरेर कारबाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारीले भनाइ छ ।
घटना भएको दिनदेखि नै हाइड्रो पावरले काम बन्द गरेको छ । संचालक तथा फिल्डमा काम गर्ने कर्मचारीले शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै असार १६ गतेदेखि नै काम बन्द गरेका हुन । हाइड्रोको अहिले ९ स्थानमा काम रोकिएको छ ।
कम्पनीले कालंगा जलविद्युत आयोजनालाई अघि बढाउन ३ ठाउँमा संरचना निमार्ण गरिसकेको छ । ६५ मेगावाट विधुत उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको कालंगा हाइड्रोको अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ ।
तोडफोडपछि सुरक्षाका लागि २० जना सशस्त्र प्रहरीको टोली खटिएको सशस्त्र प्रहरी बल बझाङका प्रहरी नायव उपरीक्षक भुवनराज पन्तले जानकारी दिनुभयो । यद्यपि सञ्चालकले भने अझै पनि आफूहरुलाई सुरक्षाको प्रत्याभुति नभएकोले सुरक्षा बल थप्न आग्रह गरेको छ ।