शम्भु दाहालझापा । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ४४ करोड रुपैयाँ मूल्य बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्षमा ४ अर्ब ३६ करोड मूल्य बराबरको तरकारीजन्य वस्तु आयात भएको थियो ।
मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म भारतबाट १ लाख मेट्रिक टन तरकारीजन्य वस्तु नेपाल भित्रिएको छ । गत आर्थिक वर्षमा पनि १ लाख ३ हजार मेट्रिन तरकारी नेपाल भित्रिएकाे थियो ।
आयात भएको सबैभन्दा बढी तरकारीजन्य वस्तु मध्ये आलु र प्याज रहेको छ । यो वर्ष झण्डै २० हजार टन आलु र पाँच हजार टन प्याज नेपालमा आयात गरिएको छ । त्यस्तै, गोलभेडा, लसुन, दाल, केराउ, बोडी साथै सागपात र हरियो तरकारी नेपाल भित्रिएको छ ।
सरकारले जीवनाशक विषादीको अवशेष परीक्षण गरेर मात्र आयात गर्न पाइने कानुन बनाई गत असार ३ गते राजपत्रमा प्रकाशित गरेको थियो । तर निर्णय उल्ट्याउदै गत असार १३ गतेको मन्त्रिपरिषद् बैठकबाट हालको अवस्थामा आवश्यक उपकरण ल्याब नभएको भन्दै पहिलेकै अवस्थाबाट तरकारीजन्य वस्तु आयात गर्ने गरी छुट दिएको थियो । जसका कारण त्यसपछि मेची भन्सार कार्यालयमा तरकारीजन्य वस्तुको आयात न्यून भएको थियो । तर अहिले भने आयात–निर्यात सामान्य अवस्थामा आएको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्यालले दाबी गर्नुभयो ।
भन्सार कार्यालयले तरकारीजन्य वस्तुको आयातबाट चालु आर्थिक वर्षमा ३८ करोड ४७ लाख ७२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षमा २६ करोड ९४ लाख रुपैयाँ तरकारी आयातबाट राजश्व संकलन भएको छ ।यस अवधिमा नेपालबाट पनि तरकारीजन्य वस्तुको निर्यात भएको देखिन्छ । नेपालबाट चालु आर्थिक वर्षमा १२ हजार २ सय ३८ मेट्रिक टन तरकारी निर्यात भएको छ । जुन एक अर्ब २६ करोड ६९ लाख रुपैयाँ मुल्य बराबरको हो । यसबाट भन्सार कार्यालयले १ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।