विनु तिम्सिनामोरङ । तीन दिनदेखि परेको अविरल वर्षाका कारण विराटनगरका कतिपय स्थान डुबानग्रस्त बनेको छ । निर्माणाधिन सडक तथा नाला निर्माणको क्रम जारी रहेका कतिपय स्थानमा डुबानका साथै हिलो र फोहोर थुप्रिँदा शहर कुरुप बनेको छ ।
वर्षाका कारण विराटनगरको दक्षिणी क्षेत्रका अधिकांश भित्री सडक तथा बजार डुबानमा परेको छ । सानो वर्षापछि नै जलमग्न हुने विराटनगरमा दुई दिनसम्म परेको वर्षाले आक्रान्त बनाएको छ । विराटनगर–१५, १४, ७ नम्बर वडा तथा कोशी अञ्चल अस्पताल, भित्री सडकहरू डुबानमा परेका छन् । यस्तै हाइवेभन्दा मुनिका सबै सडकहरुको दायाँ बायाँका भित्री सडक तथा पसल डुबानमा परेको स्थानीयले बताएका छन् । डुबानग्रस्त क्षेत्रमा नगरपालिकाले नाला क्लियर पार्न डोजर परिचालन गरिएको छ । डुबानबाट पीडित बनेका सर्वसाधरणले भने नगरपालिकाले बेलैमा ध्यान दिन नसक्दा डुबान भएको आरोप लगाएका छन् ।
विराटनगर–७ मा रहेको शनिमन्दिरको बिजुली बजार लाइन पुरै डुबानमा परेको छ । चिया पसल, इलेक्ट्रोनिक पसल तथा शैलुन, काठ मिललगायतका स्थानमा पानीको ताल बनेको छ । दिउँसो पानी केही घटेको भएपनि बुधबार बिहानी पख २ फिटसम्म पानी जमेको सोही ठाउँका स्थानीय रन्जितकुमार गुप्ताको भनाइ छ ।
स्थानीय सरकारले डुबान नहुने कारण खोजेर स्थायी समाधान खोज्नुपर्ने स्थानीय बताउँछन् । डुबानभएपछि डोजर लगाएर पानी खोल्ने र पछि चुपचाप बस्ने बानीका कारण पटकपटक समस्या भोग्नु परेको स्थानीय मोहन न्यौपानेको भनाइ छ ।यता विराटनगर–७ की वडा सदस्य चित्रकला आचार्यले एडिबीको विकास निर्माणका कारण बजार पसल डुबानमा परेको बताउनुभयो । कतिपय सन्दर्भमा सर्वसाधरणले पनि फोहरको व्यवस्थापन उचित ढंगले नगर्ने र नालामै फोहोर फ्याँक्दा नाला जाम भएको दाबी गर्नुभयो । विकास निर्माणको काम एकैचोटी नहुने भएको भन्दै उहाँले यसको समाधान बिस्तारै हुने बताउनुभयो ।
२०७४ साल साउन २८ र २९ गते आएको बाढीका कारण विराटनगर जलमग्न बनेको थियो । केशलिया र सिंघिया खोला थुनिएर बजार पसेको बाढीले विराटनगरको एयरपोर्ट एक हप्ता लामो समय सञ्चालन हुन सकेको थिएन भने हजारौं सर्वसाधरण विस्थापित भएका थिए ।
कतिपयको घर खोलाले बगाएको थियो र करोडौं धनसम्पत्ति नष्ट भएको थियो । त्यसपछि पनि विराटनगर महानगरपालिकाले आउनसक्ने सम्भावित बाढी तथा डुबानको समस्या समाधानका लागि कुनै ठोस पहल नगरेको स्थानीय बताउँछन् ।