प्रिमेश शिवाकोटीरौतहट । चन्द्रपुुर नगरपालिकाको बजेट र कार्यादेस बमोजिम निर्माण गरिएको सुस्त श्रवण बालबालिकाको आवासीय भवनको योजना कतै उल्लेख नभएको भन्दै नगरपालिकाले बिल भुक्तानी दिन मानेन् ।
आर्थिक वर्ष २०७५/०७६ मा नगरपालिकाले जनज्योति माध्यमिक विद्यालयमा अध्ययनरत श्रुस्त श्रवण बालबालिकाको लागि विनियोजन गरेको दश लाख रुपैयाँबाट निर्मित भवनको भुक्तानी लिन जाँदा भवन निर्माण सम्बन्धी योजना कम्प्युटरको सफ्ट वेयरले नदेखाएको भन्दै बिलको भुक्तानी नदिएको हो ।
नगरपालिका–६ मा रहेको विद्यालयको प्राङ्गनमै निर्मित आवासीय भवनको शिलान्यास नगरपालिकाकै मेयर रामचन्द्र चौधरीले जेठ ५ गते गरेका थिए । शिलान्यासको क्रममा उपमेयर रामरती चौधरी र वडाअध्यक्ष खड्गबहादुर कुशुवार, विद्यालयका प्रधानाध्यापक शंकर भट्टराई, स्थानीय सञ्चारकर्मीसहितको उपस्थिति थियो ।
आवासीय भवन अभावमा निकै ठूलो समस्या खेपेका बहिरा बालबालिकाको लागि निर्माण हुन लागेको भवन कुनै पनि कारणले रोकिन नहुने मेयर चौधरीले शिलान्यासको क्रममा बताएका थिए ।
नगरपालिकाकै कार्यादेशबमोजिम निर्माण गरेको आवासीय भवनको भुक्तानी लिन जाँदा आर्थिक वर्ष समाप्तीको संघारमा आएर योजनामै नभएको भन्नु नगरपालिकाको गैर जिम्मेबारीपन र लापरवाही भएको भवन निर्माण समितिका संयोजक शंकर भट्टराईले बताए । यता विशेष शिक्षातर्फका स्रोत शिक्षक रामकुमार घिमिरेले निर्माण व्यवसायीबाट उधारोमा निर्माण सामग्री खरिद गरी निर्माण गरेको भवनको भुक्तानी नहुँदा व्यवसायीले उधारो रकम चुक्ता गर्न दबाब दिएको बताए । नगरपालिकाले भुक्तानी नदिएर ठूलो समस्यमा परेका शिक्षक घिमिरे बिल भौचर, स्टिमेट, कार्यादेशलगायतका कागजातको फाइल बोकेर बारम्बार नगरपालिका धाउँदा पनि नगरपालिकाले कुनै चासो नदेखाएको उनको गुनासो छ ।
कक्षा १ देखि ८ सम्म अध्यापन गराइने विद्यालयमा बहिरा बालबालिकाले विषय शिक्षक, कक्षा कोठा एवं आवासको अभाव जस्ता विभिन्न समस्या झेल्दै आएका छन् । जसमध्ये आवासीय भवन निर्माण हुने भएपछि बहिरा बालबालिका निकै खुशी भएका थिए ।
विशेष शिक्षा अन्तर्गत समाहित शिक्षासमेत सञ्चालनमा रहेको उक्त विद्यालयमा कक्षा ९ र १० मा पनि बहिरा बालबालिका अध्ययन गर्दै आएका छन् । २०५८ सालदेखि सञ्चालनमा आएको विशेष शिक्षामा अहिले ४३ जना सुस्त श्रवण भएका विद्यार्थी अध्ययन गर्दछन् ।
स्रोत शिक्षक रामकुमार घिमिरे भन्नुहुन्छ ‘कक्षा कोठा, आवास घर र विषय शिक्षक अभाव भएकै कारण एकातिर बालबालिकाको शिक्षण सिकाई प्रभावित बन्दै आएको छ भने अर्कोतिर शिक्षा प्राप्त गर्न आउने सबै सुस्त श्रवण भएका बालबालिकालाई भर्ना लिन समेत असमर्थ थियौं । आवासको व्यवस्था भएपछि अब सुस्त श्रवण भएका बालबालिका आरामले बस्न र पढ्न सक्छन् । आवास सुबिधा नभएकै कारण शैक्षिक शत्र शुरु भएपछि भर्ना हुन आएका करिब एक दर्जन सुस्त श्रवण भएका बालबालिकालाई फर्काइएको छ ।’
आवासीय भवन अभावमा दुईवटा कोठा भएको पुरानो ब्लक भवनमा एउटा कोठामा छात्र र अर्कोमा छात्रा बस्ने व्यवस्था मिलाइएको छ । कोठा सानो भएर बालबालिकालाई कोचेर राखिएको छ । खिया लागेको तथा प्वाल परेको जस्ताको छानाबाट वर्षातको पानी चुहिने र जाडो याममा कोठा भित्रै शीत झर्ने समस्याले ग्रस्त हुनु पर्ने अवस्थाबाट मुक्त हुन लागेको भन्दै कक्षा ९ कि छात्रा सुभद्रा थिङ्ले खुशी व्यक्त गरेकी थिइन् ।
उक्त विद्यालयमा सञ्चालित बहिरा शिक्षा ग्रहण गर्न बारा, पर्सा, सर्लाही, सिन्धुली एवं घरेलु जिल्ला रौतहट लगायतका स्थानबाट बहिरा विद्यार्थी आउने गरेका छन् । मेयर रामचन्द्र चौधरीसँग यस विषयमा बुझ्न खोज्दा उनले प्राविधिक गडबडीका कारण सफ्ट वयेरमा इन्ट्रि नभएको भन्ने गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिए । भुक्तानीको लागि अझै एक महिना कुर्नु पर्ने उनले बताए ।