विनु तिम्सिनामोरङ । लगातारको वर्षाका कारण आएको बाढीले मोरङमा ४ सय ७० घरका १ हजार नाै सय पचास जना विस्थापित भएका छन् । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबार गर्ने शुकुम्बासी घर-परिवार रहेका छन् ।
विस्थापित परिवारलाई स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालय मोरङको सहयोगमा सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद केसीले बताए ।
केसीका अनुसार विराटनगर–१ मा रहेको सिंघीया खोलाका कारण ५० घर परिवार, विराटनगर–८ हाटखोला दक्षिणी क्षेत्रमा सय घर, विराटनगर–१६ दरैयाबस्तीमा ५० घर परिवार, जहदा ८, कटहरी गाउँपालिकाको ४ र ५ नम्बर वडामा ५०/५० घर परिवार विस्थापित भएका छन् । विस्थापितलाई रेडक्रसको सहयोगमा सय त्रिपाल वितरण गरिएको उनले जानकारी दिए ।
यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रंगेली–कानेपोखरी सडक खण्डको कानेपोखरी–२ को गेउरिया खोलामा हिजोदेखि बेपत्ता भएका एक व्यक्ति अझै फेला पर्न सकिएको छैन ।
अन्दाजी २५/३० वर्षका युवा खोला तर्ने क्रममा खोलाले मोटरसाइकल सहित बगाएको थियो । उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ । यस्तै उर्लाबारीमा घाँसको भारीसहित खोलाले बगाएकी एक महिलालाई प्रहरीले उद्धार गरेको छ ।
प्रमुख जिल्ला अधिकारी केसीले सम्पूर्ण सुरक्षा निकाय र जनप्रतिनिधिलाई सचेत रहन निर्देशन गरिएकाे जानकारी दिनुभयाे । प्रशासन कार्यालयले उद्वार, खोज तथा विपत्तीमा परेकाहरुलाई सुरक्षित स्थानमा लैजान तयारी अवस्थामा रहेको पनि जनाएको छ ।