शम्भु दाहालझापा । तीन दिन देखिको लगातार वर्षाको कारण झापाका केही स्थान डुवानमा परेका छन् भने अधिकांश क्षेत्र डुवान हुने अवस्थामा पुगेका छन् । बुधबारबाट परेको अविरल वर्षाका कारण ग्रामिण तथा शहरी क्षेत्रमा समेत डुवान हुन थालेको छ ।
स्थानीय रतुवा खोलाले बाँध भत्काएर बस्ती प्रवेश गरे पछि गौरादह नगरपालिका वडा नम्बर ५ र ६ का स्थानिय विस्थापित भएको मेयर रोहित कुमार शाहले जानकारी दिनुभयो । उहाँले बाढीका कारण मानविय क्षती नभए पनि पशुचौपाय र धानवालीमा असर पुगेको जानकारी दिनुभयो ।
त्यसैगरी झापाको दक्षिणी क्षेत्रका केचना, घेराबारी, गौरीगञ्जलागायका ठाउँमा हल्का डुबान भए पनि कुनै क्षती नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । अहिलेसम्म बाढी गाउँमा भन पसेको छैन ।
लगातारको वर्षपछी स्थानीय नदीहरुमा बाढी आएको छ भने नदीले कटान शुरु गरेको छ । मेची, निन्दा, हँडिया, टिमाई, बिरिङ, कनकाई, र रतुवा लागायत खोलामा आएको बाढीले कटान तीब्र बनाएको स्थानीयले बताए । बिरिङ खोला र कनकाई नदी फुटेर बस्तीमा पसेमा ठुलो मानवीय क्षति हुने भन्दै स्थानीय त्रासित बनेका छन् ।
वर्षाका कारण अधिकांस विद्यालयहरु बन्द गरिएका छन् । बजार खुल्न सकेका छैनन् । सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको न्यून उपस्थिति छ ।