रामभराेशी यादव
सिरहा । बाढीका कारण कमला नदीमा फसेका ५ जनाको उद्वारमा समस्या भएको छ ।
सिरहाको कल्याणपुर नपा–६ निर्दनामा पाँचजना र कर्जन्हा नगरपालिका–२ को कमला नदीमा एकजना बाढीमा फसिरहेको प्रहरीले जनाएको छ ।
कमला नदीको मध्य भागमा गाई गोठ बनाएर बसेका कल्याणपुरका पाँचजना फसेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनाकारी दिनुभयाे । फसेकाहरुका उद्वारका लागि काठमाडौंमा हेलिकोप्टर तयारीमा रहेको अधिकारीले बताउनुभयाे । सबै निकायसँग समन्वय गरेर उद्वारको प्रयास भइरहेको तर, अत्यधिक बाढीका कारण उद्वारमा समस्या भइरहेकाे अधिकारीको भनाइ छ ।
फसेकाहरुमा कल्याणपुर नपा–६ निर्दनाका रसिन्द्र दास, सुकदेव दास, कन्चन मण्डल, कुनमा महतो र उनकी श्रीमती तथा एकजना अर्की महिला रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले उद्वारका लागि सबै निकायसँग समन्वय भइरहेको जनाएको छ ।
बिहीबार बेलुका नै गएका उनीहरु राति बाढी बढेपछि कमला नदीको मध्यभागको टापु जस्तोमा फसेका हुन् । उनीहरुको उद्वारका लागि काठमाडौंमा हेलीकोप्टर तयारी अवस्थामा भएपनि प्रतिकुल मौसमका कारण आउन नसकेको प्रमुख अधिकारीले बताउनुभयो ।
बाढीको बहाव उच्च रहेका कारण उद्वार गर्न स्थानीय प्रहरी प्रशासनलाई कठिनाई भएको छ ।
उद्वार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन् ।
पानी पर्ने क्रम जारी रहेकाले उद्वारमा समस्या भएको प्रमुख अधिकारीकाे भनाइ छ ।