‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।म भानुभक्त धनी भैकन पनि आज यस्तो ।।'
–माेहनप्रसाद मैनाली
काठमाडौं । आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २ सय १०औं जन्मजयन्ती मनाइँदै छ । यस अवसरमा राजधानी काठमाडौ लगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गरेका थिए । युवा कवि मोतीराम भट्टको प्रयासमा भानुभक्तीय रामायण प्रकाशित भएपछि यो ग्रन्थ घरघरमा भाका हालेर गाउन थालियो र नेपाली भाषा काव्य रचनाको माध्यम बन्यो । नेपालीमाझ लोकप्रिय बन्यो । यो भाषा नेपाली राष्ट्रिय एकताको सूत्र बन्यो ।
भानुभक्त आचार्य तनहुँ जिल्लाको चुँदी, रम्घामा वि सं १८ सय ७१ साल असार २९ गते पिता धनञ्जय आचार्य र आमा धर्मावतीदेवीका पुत्रका रुपमा जन्मेका थिए ।
बाल्यकालमा आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषा र साहित्यको ज्ञान पाएका उनले घाँसीको प्रेरणा पाएर नेपाली भाषामा रामायण अनुवादको थालनी गरेका थिए । उनले आफनो जीवनकालमा रामायणका साथै बधुशिक्षा, प्रश्नोत्तरी, भक्तमाला लगायतका कृतिको रचना गरेका थिए । उनका यी कृतिको प्रभाव नेपालभित्र मात्र होइन जहाँ जहाँ नेपाली भाषी बसेका छन् त्यहाँ पनि पुगेको छ ।
नेपाल र नेपाल बाहिर बस्ने सबै नेपाली भाषीले उत्तिकै श्रद्धापूर्वक भानुजयन्ती मनाएका छन् ।
भारतको सिक्किम, दार्जिलिङ, असम, देहरादुनका साथै प्रवासका अन्य स्थानमा पनि भानुजयन्ती उल्लासपूर्वक मनाइँदै छ ।
भानुभक्तले प्रश्नोत्तरी–१९१०, भक्तिमाला–१९१०, बधुशिक्षा–१९१९ लगायतका कृतिहरु लेखेर नेपाली साहित्यको जग बसालेका हुन् ।