उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेसी मुनि धप्पर तिनटाटने डाँडा खसेर बैद्यनाथ खोला थुनिदा नेपालटार बजार डुबानमा परेको छ । मध्यान्न २ बजेतिर खसेको पहिरोले गर्दा बैद्यनाथ खोला पुरै थुनिदा खोलाको माथिल्लो भाग र तल्लो क्षेत्रमा खतरा बढेको छ । खोला थुनिको तल्लो क्षेत्रमा पर्ने कटारी बजार, सोमवारे, गोहिया, बकपति, रिक्कु उच्च जोखिममा परेको छ ।
माथिबाट पहिरो जाँदा पहाड खसेर बैद्यनाथ खोला थुनिएकोले उदयपुरको नेपालटार बजार डुबानमा पर्न सुरु गरेको छ । उद्धारका लागि जिल्ला सुरक्षा समितिको आपत्कालिन बैठक बसि बिस्फोटक पदार्थ सहितको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको विषेश टोली त्यस तर्फ परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी धु्रब बहादुर खड्काले बताउनु भयो । पहिरो नहटाए दनुवारबेसीका ८० घर परिवार र नेपालटार बजारको ६ सय घर परिवार डुबानमा पर्ने खतरा बढेको जनाएको छ ।
त्यसैगरी त्रियुगा नदिको बाढीले तटबाँध बगाएपछि बेलका नगरपालिका– १ को आम्बासी खयरवन गाउँका करिब दुई हजार पाँच सय घरहरु डुबानमा परेको र त्यहाबाट अहिले सम्म दुई सय ५० परिवारलाई उद्धार गरीएको बाँकीलाई उद्धार कार्य जारी रहेको प्रजिअ खड्काले बताउनु भयो । बाढीले बगाएर चौदण्डीगढी नगरपालिका ४ का मन कुमार तामाङ्ग बेपत्ता भएको प्रशासनले जनाएको छ ।
अविरल रुपमा परेको वर्षासँगै आएको बाढी र पहिरोबाट उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । त्रियुगा ,बरुवा ,ककरु, तावा र यारी लगायत दर्जनौ खोलामा आएको बाढीले तटबाधहरु बगाउदा करोडौको भौतिक क्षति भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी धु्रववहादुर खड्काले जानकारी दिनु भयो ।