काठमाडौं । आज गुरुपूर्णिमा पर्व । आफूलाई शिक्षा र दीक्षा दिने गुरुको सम्मान गरी यो पर्व मनाइँदै छ । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ ।
गुरु शब्दमा 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ उज्यालो हुने उपनिषदमा उल्लेख छ । गुरु कृपाले शिष्यलाई अज्ञानताको अन्धकारबाट ज्ञानको उज्यालोतर्फ अघि बढ्न बाटो देखाउँछ । गुरुबाटै शिष्यलाई प्राप्त ज्ञानले सत्य र असत्य छुट्टयाउन प्रेरणा दिने भएकाले गुरुको सम्मान गरिन्छ । पूर्वीय समाजमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका साथै साक्षात परब्रह्म मान्ने गरिन्छ । वैदिक शिक्षाले माता, पिता र गुरुलाई देवताका रुपमा सम्मान गर्न सिकाउँदै आचार्य देवो भवः भनेको छ । प्राचीन गुरुकुल शिक्षादेखि शुरु भएको गुरु–शिष्य परम्पराले गुरुप्रति विनयी भई पूर्ण ज्ञान पाउने पात्र बन्न सिकाएको छ ।
गुरु सम्मानको यो परम्परा हिन्दु, बौद्ध, शिख, ताओ लगायतका धर्मसंस्कृतिका साथै वर्तमान शिक्षामा पनि विद्यमान छ। यही परम्परालाई आत्मसात गरी यस दिन विद्यालय, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरुमा गुरुको पूजा गरी सम्मान गरिंदै छ । संगीतकर्मी, खेलाडी, अभिनयकला, यन्त्रशालालगायतका क्षेत्रमा पनि गुरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
आजै वेदव्यासको जन्मदिन परेकाले व्यासपूजा पनि गरिंदैछ । गुरु व्यास तनहुँ जिल्लाको मादी र सेतीनदी संगमस्थल दमौलीमा जन्मनु भएको मानिन्छ । समग्र वेदलाई विषयवस्तुको आधारमा ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्व वेदमा विभाजन गर्नु भएकाले उहाँलाई वेदव्यास भनिएको हो । वेदव्यासकृत विश्वको सबैभन्दा विशाल महाकाव्य महाभारतलाई पाँचौ वेद भन्ने गरिन्छ । उपनिषद्को सारलाई महाभारत महाकाव्यमा भगवत् गीताको रुपमा राख्नुका साथै वेदव्यासले सम्पूर्ण वैदिक ग्रन्थको ज्ञानलाई ब्रह्मसूत्रको रुपमा प्रस्तुत गर्नुभएको छ ।