पाल्पा । जिल्लाकै सबैभन्दा ठूलो सिँचाइ आयोजनाका रूपमा रहेको रामपुर नहर भत्किएको छ । रामपुर फाँट सिँचाइ आयोजना जल उपभोक्ता समितिबाट सञ्चालन हुँदै आएको नहर धान रोप्ने समयमा भत्किएपछि किसान चिन्तित भएका छन् । विभिन्न भागमा निर्माण कार्य भइरहेकै बेला नहरमा एक्कासी ठूलो पानी छाडेकाले बन्दै गरेको पर्खाल भत्किन पुगेको हो ।
वैशाखको पहिलो साताबाट मर्मतकार्य शुरु भएको मूल नहरको रजघरा क्षेत्रमा करिब ८० मिटर पर्खाल भत्किएको छ । समयमा निर्माण नगर्ने तथा आलटाल गरेर बस्ने, अन्तिममा आएपछि ठेक्का आह्वान गरेर काम गराउने परिपाटीले काम पूरा गर्ने समयको अभावले नहर क्षति हुन पुगेको स्थानीय पिताम्बर गौतमले बताउनुभयो ।
‘बजेट नै ढिला निकासा गर्ने, ठेकेदारले त काम गरिरहेका छन्’ उहाँले भन्नुभयो, ‘तर पर्खाल ढलान गरेपछि एक÷दुई दिन पनि पूरा सुक्न नपाउँदै ह्वात्तै पानी सञ्चालन गरिएकाले नहर भत्किन पुगेको छ ।’ नहर मर्मतको लागि प्रदेश५ भौतिक तथा पूर्वाधार मन्त्रालयमार्फत १० करोड रुपैयाँ बोलपत्र आह्वान भएको थियो । त्यसमध्येकै ७ करोड ४१ लाख लाख रुपैयाँ लागतमा अहिले मर्मतको कार्य शुरु गरिएको हो ।
मूल नहरको २ हजार ८ सय मिटर बढी आरसीसी पर्खालसहितको ढलान, ३ हजार ३ मिटर बढी शाखा नहरको मर्मतका लागि छ शाखामा विभाजन गरी तीन निर्माण कम्पनीले खुला प्रतिस्पर्धाबाट ठेक्का लिएर काम गरिरहेका छन् । मूल नहरको ६६० मिटरको शाखा नम्बर २, ७९१ मिटर शाखा नम्बर ४ र साना कल्भर्टसहितको शाखा नम्बर ६ र ७ ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सनले जिम्मा लिएर मर्मतको काम गरेको हो ।
शाखा नम्बर ३ को मूल नहर ६६० मिटर शिव खिम्ती कन्स्ट्रक्सनले र शाखा नँबर ५ को ७०८ मिटर डी कैलाश कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थिए । तीमध्ये शाखा नम्बर ४, ६ र ७ को निर्माणकार्य समयमै सम्पन्न भइसकेको छ भने शाखा नम्बर २, ३ र ५ को ५५१ मिटर बढी निर्माणकार्य सम्पन्न हुन बाँकी रहेको छ । पानीले असार अन्तिममा काम भएको शाखा नँबर २, ३ र ५ को ८० मिटर आरसीसी पर्खाल ढलाएको छ ।
असारको अन्तिमसम्म काम गरेका निर्माण व्यवसायीले पनि नहरमा व्यवसायीसँग सल्लाह नै नगरी पानी एक्कासि ठूलो पानी छाड्नाले समस्या भएको ब्रदर्श कन्ट्राक्टिङ एण्ड कन्स्ट्रक्सन प्रालिका समशुलहक मियाँले बताउनुभयो । ‘साउन १ गतेदेखि तीन चरण गरेर पानी छाड्ने समितिसँग कुरा भएकामा एक्कासी एक मिटर २० सेमीको उचाइसम्म पानी छाड्दा भर्खर ढलान भएको पर्खाल थेग्न नसकेर भत्कन पुग्यो, उहाँले भन्नुभयो ।
निर्माणकार्य सम्पन्न हुन बाँकी रहेकाले अहिले भत्केका संरचना र निर्माण गर्न बाँकी भाग बाली भित्र्याएपछि शुरु गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख श्रीधर भट्टराईले बताउनुभयो । धान रोप्न कृषक आत्तिएपछि काम नसकिँदै पानी सञ्चालन गर्दा भत्किन पुगेको उपभोक्ता समितिका अध्यक्ष हिरण्यराज रेग्मीले बताउनुभयो ।