तीर्थ न्यौपानेकाठमाडौं। सिंहदरबार अर्थात् मुलुकको प्रमुख प्रशासनिक निकाय । मुलुकको योजना बुन्नेहरु दिनभर रहने थलो । मन्त्री र उच्च ओहदाका अधिकारी भेट्न सिंददरबार पुग्नुपर्छ । जागिर माग्नेदेखि सरुवाका लागि धाउनेहरु सिंदरबार नै पुग्छन् । कर्मचारीको आशा, जनताको भरोसाको रुपमा रहेको सिंहदरबारका राणाकालीन भवन जीर्ण छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले देशकै प्रशासनिक भवन सिंहदरबारलाई बेहाल अवस्थामा पुर्याएको हो ।
राणा प्रधानमन्त्री चन्द्रशमशेर फ्रान्सको भर्सेलेज दरबारबाट अत्यन्तै प्रभावित भए । अनि आफ्नो दरबार पनि त्यही शैलीमा बनाउन लगाए । फ्रान्सको भर्सेलेज शैलीमा ७ दशकअघि निर्माण भएको यो दरबारले राणालीन युगको विकास प्रतिनिधित्व गरिरहेको छ । मुलुकमा ठूलो क्षति पुर्याएको भूकम्पले कसैलाई छाडेन । गरिबदेखि शासकसम्म । सिंहदरबारलाई पनि छाडेन । भूकम्पले सिंहदरबारलाई समेत कुरुप बनायो । भूकम्पले भवनलाई जीर्ण अवस्थामा पुर्याएपछि त्यस वरपरका सुन्दर बगैँचा पनि बेहुला बेहुलीबिनाको मण्डपजस्तै भएका छन् । भूकम्प गएको पनि ४ वर्ष नाघिसकेको छ । भूकम्प जाँदा सुशील कोइराला मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्याे । भूकम्पले बस्नै नमिल्ने गरी क्षति पुर्याएपछि प्रधानमन्त्री कार्यालय अन्यत्र सारियो । चार वर्षमा पटकपटक सरकार फेरियो । मुलुकमा ५ प्रधानमन्त्री भए । प्रधानमन्त्रीहरु आफ्नो कार्यालय आउँदा पुरानो भवनको अवस्था नियाल्दै ओहोरदोहोर गरिरहे तर सिंहदबार मर्मतले गति लिन सकेन । ढिलै भए पनि सिंहदबारको मर्मत थालिएको छ ।
भूकम्पले भत्काएको दरबार मर्मत त थालिएको तर सरोकारवालालार्ई दरबार पहिलाको जस्तो हुन्छ कि हुँदैन भन्ने चासो र चिन्ता छ । पुरातत्व विभागका वरिष्ठ इन्जिनियर सम्पत घिमिरे पुर्ननिर्माण अत्यन्तै चुनौतीपूर्ण रहेको बताउनुहुन्छ । ‘सिंहदरबार मर्मत तथा पुर्ननिर्माण अन्य भवन जस्तो होइन, निकै चुनौतीपूणै छ’ उहाँ भन्नु हुन्छ, ‘मर्मत गर्दा प्राचीन कला जोगाउनुपर्छ , अनि त्यसलाई बलियो पनि बनाउनुपर्छ ।’
सिंहदरबार मर्मत र त्यसलाई जोगाउनु केवल एउटा भवनको संरक्षण मात्र होइन, यो राणाकालीन विकासको अवस्थाको संरक्षण पनि हो । झार पलाएको सिंहदरबार पुरानै शैलीमा निर्माणले अर्को सकारात्मक आसा पनि पलाएको छ । दरबार कलात्मक थियो, शौखिन शासकहरुले बनाउने दरबार मनमोहक हुने नै भयो । भत्किनुअघिसम्म निकै आकर्षक देखिथ्यो सिंददरबार । तर भूकम्पले भत्किएपछि उजाड भयो सिंहदरबार । राणा शासनको अन्त्यपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवन भूकम्पले भत्किएपछि ४ वर्षसम्म प्लाष्टिकले छोपछाप पारेर राखियो । दरबारको कलात्मक डिजाइनमा हरियो लेउ लागेको छ । परिसरमा झार पलाएको छ ।
सिंहदरबार भूकम्पपछि ४ वर्षसम्म जीर्ण अवस्थामा रह्यो । चार वर्षमा फेरिए पाँच प्रधानमन्त्री । बल्ल सिंहदरबार मर्मत शुरु भएको छ । सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाईमा रेट्रोफिटिङ थालिएको हो । मर्मतको जिम्मा शर्मा न्यू टेक्निकल जेभीले पाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिंहदरबार छिट्टै पुरानै शैलीमा मर्मत गर्ने जनाएपछि राणाकालीन कलाकौशल जीर्णोद्वार हुने आसा पलाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे सिंहदरबार पुर्ननिर्माण छिट्टै सकिने बताउनु हुन्छ । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागसँग समन्वय गरिरहेको छ’ उहाँ भन्नुहुन्छ‘दरबारको भित्तामा रहेका कलात्मक बुट्टा र ग्यालरी बैठकको सौन्दर्य पहिलाकै जस्तो कायम हुन्छ ।’ दरबार बलियो होस् र आकर्षक पनि । किनभने राणाशासकहरुले जहानिया शासन चलाए पनि गणतान्त्रिक शासकहरुलाई शासनथलो मात्र दिएर गएनन्, कलाकौशल, प्राचीन सभ्यता पनि दिएर गएका हुन् । अबको सिंहदरबार आकर्षक, मोहक, सामरिक महत्ताको शासनथलो बन्नुपर्छ ।’
२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारीपछि २१ वटा मन्त्रालय व्यवस्था गरिएको छ । सिंहदरबारमा भूकम्पअघि सबै मन्त्रालय छुट्टाछुट्टै भवनमा बस्न मिल्ने अवस्था थियो । तर भूकम्पले पुराना भवन भत्काएपछि केही मन्त्रालयलाई एउटै भवनमा राखिएको छ । वन तथा वातावरण र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय एउटै भवनमा सञ्चालन हुँदै आएका छन् । ती मन्त्रालयको भवन तथा परिसर एउटै भए पनि प्रवेशद्वार बेग्लाबेग्लै बनाइएको छ । गणतन्त्रपछि बनेको खानेपानी मन्त्रालयलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगै राखिएको छ । भूकम्पकै कारण अरु मन्त्रालयलाई पनि पहिलाको ठाउँबाट अन्यन्त्र सारिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भूकम्पपछि पहिलाको स्थानीय विकास मन्त्रालयमा सारियो । स्थानीय विकास मन्त्रालयलाई तत्काकालीन शान्ति तथा पुनःस्थापना मन्त्रालयका लागि बनाइएको भवनमा लगियो । मुलुकको संरचना परिवर्तनसँगै स्थानीय विकासको नाम परिवर्तन गरी संघीय मामिला मन्त्रालय बनाइयो । र, सामान्य प्रशासन मन्त्रालय समेत गाभियो ।
भूकम्पबाट अन्य मन्त्रालय र केही कार्यालय समेत प्रभावित भए । प्रधानमन्त्री कार्यालयसँगै रहेको राष्ट्रिय योजना आयोगको कार्यालय भूकम्पपछि विस्थाथित हुन पुग्यो । भूकम्पपछि योजना आयोग सञ्चार तथा प्रविधि मन्त्रालयसँगै राखिएको छ । मुलुकमा सुरक्षा प्रत्याभूत गराउने रक्षा मन्त्रालय पनि भूकम्पअघि मुख्य भवनमा थियो । रक्षा मन्त्रालय भूकम्पपछि नेपाल टेलिभिजनको अगाडि सारिएको छ ।
राणाकालीन भवनमा सञ्चालन हुँदै आएको महिला, बालबालिका तथा जेष्ठ नागरिक, श्रम रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय पनि विस्थापित हुनुपुग्यो । तीन वटै मन्त्रालयलाई अन्यत्र सारियो । पूर्णरुपमा क्षतिग्रस्त राणाकालीन ती भवन भत्काइएको छ । पहिला तीन वटा मन्त्रालय बसेको ठाउँ खाली छ । भवन भत्काएर केही भागमा बगैँचा बनाइएका छन् । बगैँचाको सामुन्ने जस्ताको टहरो बनाएर हेलो सरकार संचालन गरिएको छ ।
https://www.youtube.com/watch?v=7NCkuPrW35A