हुमाकान्त पोखरेलगुल्मी । सोमबारदेखि परेको अविरल वर्षाका कारण पहिरोमा परि ६ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
जिल्लाको ठुलोलुम्पेकस्थित तिलबहादुर तरामुको घरमा राति भल पसि घर भत्किँदा उनकी ३० वर्षीया श्रीमती तिलकुमारी तरामू र उनका छोरा वर्ष १० का दर्शन तरामुको मृत्यु भएको स्थानीय जितबहादुर तरामुले जानकारी दिनुभयो।
यस्तै उनकी १२ वर्षीया छोरी करिष्मा र १४ वर्षकी छोरी धनी तरामु घाइते भएका छन्। पानी परिरहेकाले उपचारमा समस्या उत्पन्न भएकाे स्थानीयले बताएका छन्।
सत्यवतीमा ४ को मृत्यु
गुल्मीकै सत्यवती गाउँपालिका –४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका सहायक निरीक्षक कुमारबहादुर थापाका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा २५ वर्षीया पम्फा विक, निर्मला विक, अञ्जली विक र हेमन विक रहेका छन् ।
घर बगाउँदा कम्तिमा दुई बेपत्ता
सत्यावती गाउँपालिकाकै– ३ मा रुद्धबहादुर विकको घर पहिरोले बगाएको छ। राति घर बगाउँदा रुद्धबहादुर विक र उनकी आमा घरमा भएको आशंका गरेपनि परिवारमा अन्य कति थिए भन्ने एकिन हुन छैन। उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ ।
अविरल वर्षा भइरहेको र बाटोमा पहिरो गएका कारण प्रहरीको टोली त्यसतर्फ पुग्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे पूरा विवरण आइसकेको छैन ।
उद्धारका लागि स्थानीय र प्रहरीको टोलीसँगै स्वास्थ्यको टोली पनि घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार