तनहुँ । जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका अभिलेख कार्य शुरु भएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानको तस्बिर खिचेर सोमबारदेखि अभिलेख शुरु गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको फिल्ड कार्यालयमा उपस्थित भएर मन्त्री चुमानले आफ्नो व्यक्तिगत विवरण, तस्वीर, हस्ताक्षर, औठाछाप लगायतका विवरण भर्नुभएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको पनि विवरण दर्ता गरिएको छ ।
मन्त्री चुमानले अभिलेखअ दर्ता गराउँदै मुलुक आधुनिक प्रविधितर्फ अघि बढिरहेकाले पुराना सोच र शैलीलाई विस्थापित गर्न र मुलुकमा सुशासन र समृद्धि कायम गर्न राष्ट्रिय परिचयपत्रले सहयोग पु¥याउने मन्त्री चुमानले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख वाग्ले र व्यास नगरपालिकाका प्रमुख न्यौपानेले राष्ट्रिय परिचयपत्रले सम्पूर्ण विवरण एकीकृत गर्न सहयोग पुग्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी, बाजेको नाम उल्लेख गर्नुपर्छ । ् फारममा औंठाछाप (१० वटा), आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।
दर्ताका लागि तीन कर्मचारी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा स्थानीय तहसँगको समन्वयमा सबै स्थानीय तहका वडासम्म पुगेर विवरण सङ्कलन गरिनेछ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पाँचथर र सिंहदरबारस्थित राष्ट्रसेवक कर्मचारी गरी एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरेको छ । साउनदेखि प्रदेश १ को झापा र सङ्खुवासभा, प्रदेश २ का सप्तरी र महोत्तरी, प्रदेश ३ का ललितपुर, रसुवा र चितवन, गण्डकी प्रदेशको तनहुँ र स्याङ्जा, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदुरपश्चिम प्रदेशका अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण सङ्कलन शुरु भएको छ ।
नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निमार्णमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।
अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।
राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच .जिटुसीं) सेवा प्रदान गर्न उपयोग हुनेछ ।