हुमाकान्त पोखरेलगुल्मी । सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घा र वडा नम्बर तीन ठुलोलुम्पेकमा पहिरो जाँदा पुरिएर नौ जनाको मृत्यु भएको छ । चार जना हराइरहेका छन् । पहिरोले घरहरु बगाउँदा सत्यवती गाउँपालिका वडा नम्बर ४ लिम्घामा छ जना र वडा नम्बर ३ मा ठुलोलुम्पेकमा ३ जनाको मृत्यु भएको हो ।
लगातारको वर्षाका कारण लिम्घाको भिरकुनामा दुई सय मिटर माथिबाट आएको पहिरोले तीन घर बगाउँदा छ जनाको मृत्यु भएको छ । स्थानीय छली विक, चन्द्र बहादुर विक र धन बहादुर विकको घर बगाएको वडाध्यक्ष दान बहादुर रानाले जानकारी दिए । पहिरोमा परी ३२ वर्षीया निर्मला विक, २९ वर्षीया पम्फा विक, १२ वर्षीया अञ्जली विक, ५ वर्षीय हिमांशु विक, ७० वर्षीया छली विक र ९ वर्षीया सिवानी विकको मृत्यु भएको छ ।
यस्तै ७ वर्षीया तारा विक र डेढ बर्षका एक बच्चा बेपत्ता भएको वडाध्यक्ष रानाले जानकारी दिए । लगातार भइरहेको वर्षाका कारण गएराति ३ बजे पहिरोले सूर्यलाल पौडेल, चन्द्र बहादुर विक, रीता विक, बनबहादुर विक र परी विकको घर पनि पुरेको छ । पहिरो आएको थाहा पाएपछि उनीहरुले भागेर ज्यान जोगाएको रानाले बताउनुभयो । अझै पनि २० घर जोखिममा रहेकाले सबैलाई सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ ।
त्यसैगरी सत्यवती गाउँपालिकाकै वडा नम्बर ३ ठूलोलुम्पेकको दाङसिङ्गामा पहिरोले घर पुरिएर तीन जनाको ज्यान गएको छ । ३० वर्षीया तिलकुमारी तरामु, उनका छोरा १० वर्षीय दर्शन तरामु मगर र दुर्गा सिञ्जालीको मृत्यु भएको स्थलगत उद्दारमा खटिएका सशस्त्र प्रहरी प्रमुख दिनेश रायमाझीले बताउनुभयो । तिलकुमारीकी छोरी करिष्मा र धनी तरामु घाइते भएका छन् । लुम्पेककै सिङ्दिमा रुद्रबहादुर विकको घर भत्किएँदा माया र बबि बिक दुई जना हराइरहेका छन् । अहिले प्रहरी तथा स्थानीय बासिन्दाले उनीहरुको खोजी गरिरहेका छन् ।
विकट भएकोले उद्धारमा समस्याघाइतेहरुको टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेको गाउँबाट बाहिर जाने सडक अवरुद्ध भएकाले उपचारका लागि लैजान समस्या भएको छ । सत्यवतीको लिम्घा सदरमुकाम तम्घासदेखि ६० किलोमिटर भन्दा बढी दुरीमा पर्छ । लिम्घाको मुख्य सडकहरु पहिरोले भत्काएपछि यातायात अवरुद्ध छ । जसका कारण जिल्लाबाट राहत र उद्धारमा जाने टोलीलाई समस्या भएको छ । अहिले स्थानीयसहित जिल्ला समन्वय समिति, नेपाल रेडक्रस सोसाइटी र विभिन्न राजनीतिक दलका नेता लिम्घा पुगेका छन् ।
ठुलोलुम्पेकमा प्रहरी नायव उपरीक्षक मीन घले र सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश रायमाझी सहितको टोली उद्धारमा खटिएका छन् । लिम्घामा इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक राधेश्याम सिहसहितको प्रहरी टोली पुगेको छ । घटना स्थलको अवलोकन र राहत वितरणको लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतका मन्त्री तथा अन्य नेता घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले अहिले उद्धारपछी राहत र पुर्नस्थापनाको काम सुरु भएको बताए ।
मन्त्रीहरूद्धारा दुःख व्यक्तसत्यवती गाउँपालिकाको लिम्घा र ठुलोलुम्पेकमा पहिरोमा परी जनधनको क्षति भएपछि मन्त्रीहरुले दुःख व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, ५ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतका नेताहरुले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका हुन् । अकल्पनिय प्राकृतिक विपद्मा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै वेपत्ताहरुको खोजी, घाइतेहरुको उपचार र पहिरो पिडितहरुको राहत र उद्धारमा जुट्न सबैलाई आग्रह गरेका छन् ।