काठमाडौं । केही दिनदेखि कमजोर रहेको मनसुन पुनः सक्रिय भएकाले देशभर मुसलधारे वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय हावाको प्रभावले बुधबार देशको धेरैजसो स्थानमा मध्यम तथा मुसलधारे वर्षाको सम्भावना रहेको मौसमविद् विभुती पोखरेलले बताउनुभयो ।
'मनसुनी ट्रफ तलमाथि भइरहने हुन्छ', मौसमविद् पोखरेलले भन्नुभयो 'उक्त प्रणाली तल रहेमा नेपालमा मनसुन सक्रिय हुन्छ र वर्षा हुन्छ ।'
सम्भावित वर्षका कारण तराई तथा चुरे क्षेत्रमा मनसुनी वर्षाको प्रभाव बढी पर्ने देखिएकाले बुधबार चितवन, पर्सा, बारा, मकवानपुर, नवलपुर, परासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्नपुर, झापा, मोरङ, सुनसरीलगायत प्रदेश १, २, ३, ५, गण्डकी चुरे र पहाडबाट बहने साना नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।