मोरङ । विराटनगर महानगरपालिकाले बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाइफाई सेवा सञ्चालन गरेको छ । वर्ल्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सेवा सञ्चालन गरिएको हो ।
पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल (कोशी), मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, विद्युत् प्राधिकरण (भृकुटी चोक), विराटनगर विमानस्थल, बसपार्क, जिल्ला प्रशासन कार्यालय मोरङ, बरगाछी, हनुमान मन्दिर (मेनरोड) र ट्राफिक चोकमा वाइफाई सेवा शुरु गरिएको छ ।
जडान गरिएका वाइफाईले प्रत्येक स्थानमा ५० देखि सय मिटर क्षेत्रमा एकसाथ २ सय ५० देखि ३ सय ५० जनाले तीन एमबिपिएस् सेवा उपभोग गर्न पाउने छन् । सेवा पाँच वर्षका लागि वर्ल्ड लिङ्कले निःशुल्क उपलव्ध गराएको हो । नगरप्रमुख भीम पराजुलीले कञ्चनबारीमा सेवा सञ्चालन शुभारम्भ गर्दै निःशुल्क वाइफाईले युवालाई महानगरपालिकासँग जोड्न खोजेको बताउनुभयो ।
पराजुलीले नगर क्षेत्रमा निःशुल्क वाइफाईसेवा उपलव्ध गराउने नीति र कार्यक्रमअनुसार साउन महिनाभित्रमा ३२ स्थानमा सेवा सञ्चालन गर्ने योजनाअनुरुप कार्यशुरु गरेको जानकारी दिनुभयो । आगामी कात्तिक महिनाभित्र नगरका प्रमुख चोकमा थप ५० स्थानमा वाइफाई जडान गर्ने योजना रहेको पराजुलीको भनाइ छ ।
वर्ल्ड लिङ्कका विराटनगर सहायक प्रबन्धक प्रेमप्रसाद घिमिरेले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले निःशुल्क सहयोग गरेको धारणा राख्नुभयो ।