परिवारको प्रोत्साहन र साथीभाईको सहयोग र हौसलाले यो ठाउँमा पुगेको बताउँदै लक्ष्मण आफूजस्तै फरक क्षमता भएका व्यक्ति (अपाङ्ग) लाई बाहिरी समाजमा निस्केर हेर्न र मनमा आत्मबल लिएर अगाडी बढ्न सुझाव दिन्छन् ।
शम्भु दाहालझापा । मुक्तिचोकबाट गरिब ६ किलोमिटर दक्षिण बिर्तामोड–७ को खालबाडीमा पुग्दा लक्ष्मण आचार्य माछालाई चारो हालिरहेका थिए । ह्विलचियरलाई हातले दायाँबाँया गुडाउँदै उनले १५ कठ्ठामा खनिएका ३ वटा पोखरीका माछालाई चारो हाल्न भ्याए ।
साबिक गरामनी -२ का ३४ बर्षीय लक्ष्मणका दुबै खुट्टा टेकिदैनन् । तीन बर्षको उमेरबाटै खुट्टाले टेकिन छाडेपछि अहिले उनको सहारा बैसाखी भएको छ । तर, उनि फरक क्षमता भएका आम व्यक्ति (अपाङ्ग) भन्दा बिल्कुल फरक छन् ।
आफू काम गर्न नसक्ने भन्दै स्थानिय तहमा सिफारिस बनाएर माग्दै हिड्ने धेरै फरक क्षमता भएका व्यक्ति (अपाङ्ग) को कमी छैन समाजमा । तर, लक्ष्मण आफुमात्र स्वरोजगार भएका छैनन् दैनिक ६ जनालाई रोजगार समेत दिएका छन् ।माछाको पोखरी नजिकै उनको बाख्राको फर्म छ । जहाँ उनले जग्गा लिजमा लिएर व्यवसाय गरेको गरिरहेका छन् । । जमुनापारी, खरी, मुडुले लोकल जातका ६० वटा बाख्राका माउ उनको फर्ममा रहेको लक्ष्मणले बताए । उनको घर खालवाडीबाट करिब ३ किलोमिटर माथी सैनिक मोडमा गुडलक होटल खोलेर लक्ष्मणले अर्गानिक खानेकुरा बिक्रि गर्दै आएका छन् । घुँगी, गंगटा, झिंगे माछा, लोकल कुखुराको परिकार राख्ने गरेको लक्ष्मणले बताए ।
लक्ष्मणले घर नजिकैको खेत देखाउँदै भने , ‘यहाँ यसपालीबाट आर्गनिक तरकारी खेती गर्छु र आफ्रनै होटलमा बेच्छु ।’ घरबाहिर ननिस्केको भए म पनि अरु साथीहरु जस्तै हुन्थेँ । लक्ष्मणले भने बाहिर निस्किएँ समाज बुझेँ र आत्मबल बढ्यो । विगत सम्झदै उनले भने ‘तीन चक्के स्कुटरमा पारिबाट जुत्ता चप्पल ल्याएर हटियाँ हटियाँ बेचेँ, कहिले मोटर पार्टस् बेचेँ, कहिले किराना पसल चलाएँ ।’ उनले थपे ‘ अब कृषिलाई नै प्राथामिकता दिएर काम गर्छु ।’
लक्ष्मणको कामलाई श्रीमती मञ्जुले साथ दिने गरेकी छिन् । ३ बर्षको छोरा मानिस स्कुल जान्छन् । बाख्राको स्याहार सुसारमा मञ्जुको साथ रहेको लक्ष्मणले बताए । जेठको सुरुमा पोखरीमा हालेका १८ हजार माछाका भुरा मरे । साहुले मर्दा भने फेरी दिने भने पनि दिएनन् लक्ष्मणले दुखेसो गरे । उनले भुरा मरे पनि हरेस नखाई फेरी ३० हजार भुरा हालेको सुनाए ।
बिर्तामोड नगरपालिकाले बाख्रा पालनका लागि २ लाख ५० हजार अनुदान दिएकोमा उनि दंग छन्। तर नगरपालिकाको पशु सेवा कार्यालयले कम्तीमा महिनाको एक पल्ट आएर बाख्राको परिक्षण गरिदिए सहज हुने लक्ष्मणको भनाई छ ।
कसैले सक्दैनस भनेर भन्यो भने त्यो काम गर्नैपर्ने लक्ष्मणको हठ भएको उनकी श्रीमती मञ्जुले बताइन् । मञ्जुले भनिन् ‘शहिद नेत्रलाल पार्कमा संसद विकास कोषबाट पैसा आएको रहेछ। ठुला ठेकेदारले घाटा हुन्छ भनेर गरेनन् । आर्थिक बर्ष बित्न १४ दिन मात्र बाँकी रहँदा पोखरी निमार्णको काम १४ दिनमा नै सकेर जिम्मा लगाउनुभयो ।’ उनले थपिन, ‘१४ लाख ५० हजारमा लिएको कामबाट २ लाख रुपैयाँ घाटा भएको छ ।’
कमाएको पैसाले व्यवसायमा नै लगानी गर्ने गरेको मञ्जुले बताइन् । अहिले लक्ष्मणले अटो समेत किनेर फुर्सदको समयमा आफै कुदाउँछन् अरु बेला भाडामा दिएका छन् । अपाङ्ग र असहायलाई नि:शुल्क अटोमा चढाउने गरेको उनले सुनाए ।
तीन पुस्ता रहेको १३ जनाको संयुक्त परिवारमा बस्दै आएका लक्ष्मणसँग परिवारका सबै सदस्य पनि खुसी छन् । बुबा होमनाथ र आमा देवीमाया छुट्टै गाइ फर्म सञ्चालन गर्छन् । लक्ष्मणकी आमा देवीमायाले भनिन्, ‘तीन बर्षको हुँदा नै खुट्टा टेक्न छोड्यो । अस्पताल लिँदा कसैले पोलियो भएकाे भने, कसैले के भने । तर जाती भएन । कसरी गरी खान्छ ? भनेर तनाव भएको थियो । अहिले भने खुसी छु ।’
परिवारको प्रोत्साहन र साथीभाईको सहयोग र हौसलाले यो ठाउँमा पुगेको बताउँदै लक्ष्मण आफूजस्तै फरक क्षमता भएका व्यक्ति (अपाङ्ग) लाई बाहिरी समाजमा निस्केर हेर्न र मनमा आत्मबल लिएर अगाडी बढ्न सुझाव दिन्छन् ।