विनु तिम्सिनामोरङ । साउनको पहिलो हप्ता सकिन लाग्दा तराईका फाँट र पहाडका बेसी चिटिक्क देखिएका छन् ।
अत्याधिक वर्षाले रोपिसकेको खेतका गरामा पानी टनाटन देखिन्छ भने पहाडका बेसीमा धानले पाउलो फेरेको छ । अझै पनि तराई खेतका फाँटमा किसानहरू धान रोप्न व्यस्त देखिन्छन् । यद्यपि धानबालीका लागि मल पाइन्छ कि भन्ने आशामा रहेका किसान मलका लागि केही समय कुर्ने योजनामा रहेकाले रोपाइँ गर्न ढिलाइ भइरहेको हो ।
अन्नको भण्डार मानिने १ नम्बर प्रदेशको तराईमा तथ्याङ्क अनुसार अझै रोपाइँ जारी छ । अत्याधिक वर्षाका कारण कतिपय खेत डुबानमा परेका छन् ।
मोरङमा हालसम्म ५० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको प्रदेश १ कृषि निर्देशनालय विराटनगरले जनाएको छ । निर्देशनालयका अनुसार सुनसरीमा ४० प्रतिशत, झापामा ७० प्रतिशत खेतमा रोपाइँ भइसकेको छ । यस्तै पहाडको ताप्लेजुङमा ७५, संखुवासभामा ६५, सोलुखुम्बुमा ७०, पाँचथरमा ७०, इलाममा ५४, भोजपुरमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसहेको छ । यस्तै तेह्रथुममा ५५, धनकुटामा ४०, उदयपुरमा ५५, ओखलढुंगामा ३५ र खोटाङमा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ ।
![](https://45.77.241.73/wp-content/uploads/2019/07/ropain.jpg)
गत मंगलबारको तथ्यांक अनुसार प्रदेशमा हालसम्म जम्मा ५६.५४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । धानबालीका लागि किसानले पर्याप्त मल पाउन नसक्दा प्रदेश १ का अधिकांश जिल्लामा रोपाइँ सुस्त भएको छ । मागअनुसार बजारमा मल नपाइने र थोरै मात्रै मल पाइने भएकाले रोपाइँमा ढिलाइ भइरहेको मोरङ ग्रामथान–५ का किसान रमेश चौधरीले बताए ।
मोरङमा मल वितरणको जिम्मा सहकारी संस्थाहरूले पाएका छन् । स्थानीय सहकारी संस्थाले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले पर्याप्त मल नदिएको भन्दै किसानलाई थोरै मल दिने गरेको चौधरीले बताए । ग्रामथान–५ का रामु चौधरी भने मल नभए पनि रोपाइँ गर्ने योजनामा छन् । बजारमा युरिया मल पाइए पनि डिएपी मल नभएको सोही ठाउँका किसान श्याम बिश्वासले बताए ।
![](https://45.77.241.73/wp-content/uploads/2019/07/ropai.jpg)
धान रोपाइँ गर्नुअघि खेतमा डिएपी मल प्रयोग गर्ने गरिएको छ । धान गोड्ने बेलामा युरिया मल चाहिन्छ । धानका लागि पर्याप्त मल नपाइएका कारण यस वर्ष धान उत्पादन कम हुने किसानको चिन्ता छ ।
प्रदेश १ मा मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले पर्याप्त मल आयात नभएका कारण यस वर्ष माग अनुसार डिएपी मल आपूर्ति गर्न नसकेको बताउँदै आएका छन् ।