काठमाडौं । कुटनीतिक क्षेत्रमा लामो अुनभव सङ्गाल्नुभएका मदनकुमार भट्टराईद्वारा लिखित पुस्तक ‘परराष्ट्रका पात्र’ लोकार्पण गरिएको छ ।
परराष्ट्र सचिव, जापान र जर्मनीको राजदूत तथा राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला र कूटनीतिक विषयविज्ञका रुपमा सेवा गरिसकेका मदनकुमार भट्टराईको कूटनीतिक कर्मको झण्डै चार दशकको इतिवृत्त ‘परराष्ट्रका पात्र’ मा समेटिएको बताइएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा महाविद्यावारिधिको उपाधि हासिल गरेका अजातशत्रु तिनै भट्टराईको स्मरणात्मक कृति किताब प्रकाशनले बजारमा ल्याएको हो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले शनिबार राजधानीमा विमोचन गर्दै हरेक विषयका जानकार सरल एवं सहृदीय भट्टराईको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभय ।
पूर्व राजदूत शङ्कर शर्माले विमोचित कृतिका विविध आयामको समीक्षा गर्दै भट्टराईको सीपयुक्त सुुझबुझपूर्ण कूटनीति सञ्चालनको प्रशंसा गर्नुभयो ।
पत्रकार घनश्याम खड्का र डा. रीता थापाले पुस्तकका केही शीर्षकका विषयवस्तु र सन्दर्भको विश्लेषणात्मक प्रस्तुति पेश गर्नुभएको थियो भने लेखक भट्टराईले पुस्तक लेखनका उद्देश्यबारे जानकारी दिनुभएको थियो।
अन्तर्राष्ट्रिय सम्बन्धबारे रुचि राख्ने विद्यार्थी र अनुसन्धातालगायतलाई बहुउपयोगी उक्त पुस्तक लेखक भट्टराईले आफ्ना मातापिता होमकुमारी र बलराम भट्टराईप्रति समर्पण गर्नुभएको छ ।
६ सय रुपैयाँ मूल्यको पुस्तकमा ‘जैसीकोठा र मुन्सीखाना, मुन्सी कप्तानदेखि शिष्टाचार महापाल, डाइरेक्टर जनरलः पाँच प्रयोग, बिपी र विदेश मामिला’ लगायत १० शीर्षकमा लेखक भट्टराईले कलम चलाउनुभएको छ ।