काठमाडौं । कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन भएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नल पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।
कार्यक्रममा खनालले ‘मान्नमी’ कर्णाली प्रदेश र त्यस क्षेत्रका जनप्रतिनिधिहरूका लागि पठनीय र सङ्ग्रहणीय दस्तावेज बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णालीको उदयदेखिको इतिहास, भूगोल, संस्कृति, विकासका पाटाहरू,वर्तमान अवस्था र सम्भाव्यताहरू समेटिएको ‘मान्नमी’ले कर्णाली मात्र होइन समग्र देश बोकेको छ ।’ समाजवाद उन्मुख नयाँ संविधानले परिवर्तनका सम्पूर्ण ढोकाहरू खोलिदिएको भन्दै पूर्व प्रधानमन्त्री खनालले समानुपातिक अधिकार र विकासले कर्णालीलाई समटेको धारणा राख्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्न सके प्राकृतिक स्रोत साधनले भरिपूर्ण हिजोको समृद्ध कर्णाली फेरि पनि समृद्ध हुनेमा दुई मत नरहेको बताउनु भयो ।
वरिष्ठ संस्कृतिविद् वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले २०२७ मा ५ जना विज्ञको टोलीसहित नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिञ्जा खोला पुगेको स्मरण गर्दै त्यहाँको भूगोल, अर्थतन्त्र, भाषा, इतिहास, लोक संस्कृति समेटेर ५ वटा पुस्तक प्रकाशन गरिएको बताउनु भयो । देशलाई मेचिदेखि महाकाली जोडेर एक ढिक्का बनाउन संस्कृति र इतिहास अध्ययन अनुसन्धान जरुरी रहेको सन्दर्भमा एउटा संग्रहणीय र पठनीय जर्नल ‘मान्नमी’ प्रकाशन भएकामा खुशी व्यक्त गर्नुभयो ।
पूर्व गृहमन्त्री जनार्दन शर्माले ‘मान्नमी’का सबै रचना पढ्दा जनप्रतिनिधिलाई कर्णाली विकासको मार्गचित्र तयार गर्न आवश्यक दस्तावेज तयार भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले कर्णालीलाई सुनको डल्लो हो भन्ने गरेको छु । त्यसलाई गहना बनाउने कालिगड हामी नेतृत्व पङ्क्ति जिम्मेवार र गम्भीर भएर लाग्ने हो भने अबको दश वर्षमा कर्णालीलाई मलुककै सबैभन्दा धनी प्रदेश बनाउन सम्भव छ ।’
पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले अझै पनि कर्णालीको मुख्य समस्या बाटोको पहुँच नै भएको दावी गर्नुभयो । उहाँले बाटोघाटोको सहज पहँुच र विद्युत् आपूर्ति गर्न सकेको खण्डमा कर्णालीको विकासले गति लिने बताउनु भयो ।
पूर्व मन्त्री शाहीले कर्णालीको विकास भए मुलुककै विकास हुन्छ भन्ने सोच राखी संघ, प्रदेश र स्थानीय सरकारले योजनावद्ध रूपमा कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।
जर्नलको समालोचना गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले गैरसरकारी संस्थाहरू धेरै फेसनेबल भएको र व्यवहारमा उनीहरूको योगदान शून्यप्रायः रहेको अवस्थामा रूपान्तरण नेपालले अनुकरणीय कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्नमी पुस्तकालयमा राख्नु पर्ने मात्र होइन कर्णालीका जनप्रतिनिधिहरूले विकासका योजना बनाउँदा अगाडि राखेर मनन गर्नुपर्ने दस्तावेज बनेको छ ।’
जर्नलको समालोचना गर्दै प्रा. डा. नन्दबहादुर सिंहले संग्रहित अधिकांश सामग्री स्पष्ट भए पनि कतिपय लेखक पाठकलाई बुझाउने सवालमा चुक्नु भएको धारणा राख्नुभयो । कर्णालीको इतिहासलाई जोड्दै प्राध्यापक सिंहले भन्नुभयो, ‘प्राचीन कालमा जुम्लाको अकाल सहर देशकै सबैभन्दा ठूलो शहर थियो भने दैलेखको दुल्लु दोस्रो ठूलो शहर थियो । त्यस्तो समृद्धशाली कर्णाली कसरी भताभुङ्ग भयो ? यसको गम्भीर अध्ययनको सुरुवात ‘मान्नमी’ले गरेको छ ।’रूपान्तरण नेपालका अध्यक्ष एवम् ‘मान्नमी’का सम्पादक मोहन शाहीले कर्णाली प्रदेशलाई नजिकबाट बुझ्न चाहने जो कसैका लागि ‘मान्नमी’ गतिलो सन्दर्भ सामग्री बन्ने आशा व्यक्त गर्नुभयो । ‘साङ्लोको शक्ति त्यसमा रहेको सबैभन्दा कमजोर कडीले निर्धारण गर्दछ र चुडाई त्यहीँबाट सुरु हुन्छ’ भन्ने वरिष्ठ योजनाविद् डा. हर्क गुरुङको भनाई सम्झँदै सम्पादक शाहीले प्राकृतिक स्रोत साधनले धनी भएर पनि विकासका सूचकमा सबैभन्दा पछाडि परेको कर्णालीबारे राज्य र सरोकारवालाको ध्यानाकर्षण गर्न कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्कका रूपमा ‘मान्नमी’ प्रकाशन गरिएको बताउनु भयो ।