काठमाडौं । बहुप्रतिभाशाली सर्जक अभिनेता, गायक एवम् संगीतकार कोशिस क्षेत्री चर्चित नायिका नीता ढुंगानाको चलचित्रमा अनुबन्धित भएका छन् ।
नीता फिल्मस् प्रोडक्सनले निर्माण गर्ने चलचित्रमा नीता र कोशिस मुख्य भूमिकामा देखिने छन् । अन्य कलाकारका लागि सुनील थापा, विशाल पहाडी लगायतसँग सल्लाह भइरहेको जनाइएको छ ।
गायनबाट कलाकारिता यात्रा शुरु गरेका कोशिसको अभिनय यात्रा भने चलचित्र ‘मोक्ष’ बाट शुरु भएको थियो । पहिलो चलचित्रबाटै उत्कृष्ट अभिनेतासहित ३ वटा अवार्ड हात पारेपछि कोशिसको अभिनयले प्रशंसा बटुल्यो । चलचित्र ‘पर्व’ मा नम्रता श्रेष्ठसँग अभिनय गरेपश्चात केकी अधिकारी र उनको अभिनय रहेको चलचित्र ‘रातो गलबन्दी’ प्रदर्शनक्रममा छ ।
‘काले दाइ’ गीत सर्वाधिक रुचाइएपछि उनी संगीतकारका रुपमा पनि उतिकै व्यस्त छन् । उनको संगीत तथा गायन रहेका सिर्जनाः यो केहो, कान्छी मट्याङट्याङ, बजार लाग्या छ, जिन्दगानी तिमी, सुखमा, डानसमा म एक नम्बर, म त पिरीममा पर्याछु, चंगा चेट, खुद्राखाद्री मायालगायतका दर्जनौँ गीत आम दर्शक स्रोताले रुचाएका छन् ।
नीताको एकल लगानीमा निर्माण हुन लागेको फिल्म कोशिसको पाँचौँ चलचित्र हो । प्रेम कहानी समेटेर निर्माण गर्न लागिएको चलचित्रको गीत–संगीत र स्क्रिप्ट लेखनी भइरहेको छ । समुन्द्र भट्टको निर्देशनमा बन्ने चलचित्रको नाम जुराउन बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।
पाँच वर्षअघि चलचित्र ‘आधा पेज’ बाट निर्देशनमा डेब्यु गरेकी समुन्द्रको यो दोस्रो चलचित्र हो ।