विनु तिम्सिनामोरङ। साउन महिनामा मात्र वृक्षारोपणका लागि बिरुवा उत्पादन र वितरण गर्ने परम्परागत प्रणालीमा सुधार गर्दै मोरङमा बाह्रै महिना बिरुवा उत्पादन र वितरण हुने नर्सरी पनि स्थापना भएको छ । प्रदेश सरकारको सहयोगमा मोरङको सुन्दरहरैंचा नगरपालिकामा आधुनिक बाह्रमासे नर्सरी निर्माण गरिएको हो ।
वातावरण संरक्षणमा विशेष जोड दिंदै प्रदेश सरकारले जुनसुकै समयमा पनि बिरुवा उपलव्ध गराउन सक्ने गरी नर्सरी निर्माणमा लगानी गरेको हो ।
सेक्टर वन कार्यालय सलकपुरमा एक बिघाभन्दा बढी क्षेत्रफलमा आधुनिक नर्सरी निर्माण गरिएको छ । प्रदेश सरकारले उपलब्ध गराएको ३० लाख रुपैयौँ बजेटबाट नर्सरी, र त्यसमा हरितगृह प्रणालीको छानो लगाउने काम गरिएको छ ।
नर्सरीमा अहिले झण्डै ३ लाख बिरुवा हुर्किएका छन् । सतिसाल, सिसौं, टिक, खयर, करम, बोटधएरो, रक्त चन्दन, रुद्राक्ष आदि काठ तथा गैरकाठ प्रजाति तथा सडक किनारमा हरियाली प्रवद्र्धन हुने खालका बिरुवाहरू नर्सरीमा हुर्किएका छन् ।
विभिन्न छिमलमा हुर्काइएका बिरुवाहरु एक वर्षको भएपछि मात्र रोप्नका लागि वितरण गरिने डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले जानकारी दिए ।
बिरुवा रोप्नका लागि पानी परेको र गर्मी मौसम अनुकुल हुन्छ । वैशाख महिनादेखि कार्तिक महिनासम्म बिरुवा रोपेर हुर्काउन सकिन्छ । त्यस बाहेक जाडो याममा भने बिरुवा हुर्काउन कठिन हुने गरेको छ ।