विनु तिम्सिनामोरङ । सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले आवश्यक कर्मचारी अझै पाउन सकेको छैन । ३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश १ मा अझै २ हजार ४ सय कर्मचारीले काम चलाउनु परिरहेको छ ।
प्रदेशमा कर्मचारी अभाव भएको विषय पुरानो होइन । तथ्यांकमा हेर्दा पनि प्रदेश १ मा अझै १ हजार ४ सय कर्मचारी अभाव छ । सरकार गठन भएको दुई वर्ष पुग्न लागे पनि प्रदेशले अझै आवश्यक कर्मचारी पाउन सकेको छैन । जसका कारण चालू आर्थिक वर्षमा तीव्र गतिका साथ काम गर्ने तयारी गरेको प्रदेश सरकारलाई झट्का लाग्न सक्ने देखिएको छ ।
३ हजार ८ सय कर्मचारीको दरबन्दी रहेको प्रदेश एकमा २ हजार ४ सय मात्रै छन् । तल्लो तहका कर्मचारी भन्दा सचिव, उपसचिव लगायतका कर्मचारीको अभाव बढी भएको प्रदेशका प्रमुख सचिव सुरेश अधिकारीले बताउनुभयो ।
यद्यपि कर्मचारी अभावलाई देखाएर प्रदेश सरकार अब उम्कन नसक्ने अधिकारीले बताउनु भएको छ ।
अधिकारीले असार मसान्त सकिएपछि कर्मचारी विदा बस्ने परिपाटीको अन्त्य गर्न लागिएको बताउनुभयो । साउन लागेपछि कर्मचारीले घर परिवार भेटघाटका लागि विदा लिने प्रवृत्ति रहेको बताउँदै प्रदेश सरकार एक्सन प्लान बनाउन तिर लागिरहेको जानकारी पनि दिनुभयो ।
प्रदेश सरकार संस्थागत हुन १ वर्ष लागेको भएपनि अब तीव्र गतिका साथ काम हुने अधिकारीको दाबी छ। गत वर्ष प्रदेश सरकार नयाँ र संस्थागत हुने प्रक्रियामा थियो । कर्मचारीको व्यवस्थापन, कानूनको व्यवस्थापन, जनप्रतिनिधिको बुझ्ने बुझाउने क्षमताको विकास गराउनमा १ वर्ष खर्च भएको भए पनि कामको गति लिने यो वर्षदेखि देखिने अधिकारीले बताउनुभयो ।
अधिकारीले गत असार २६ गते भोजपुरमा प्रदेश सरकार अन्तर्गतको सिंचाई डिभिजन कार्यालयका प्रमुख मोहनबाबु यादव १ लाख ८० हजार घुससहित रङ्गेहात पक्राउ परेको घटनाले भ्रष्टाचार भइरहरेको संकेत पाएको पनि बताउनुभयो ।
उहाँले भ्रष्टाचार नियन्त्रण गर्न र अनियमितता रोक्नका लागि पनि प्रदेश सरकारले मुख्यमन्त्रीकै अध्यक्षतामा अनुगमन गरिने पनि जानकारी दिनुभयो ।