हिमलाल पराजुलीस्याङ्जा । बालिघरे प्रथामा चल्दै आएको आरन व्यवसाय व्यवसायिक बन्दै गएको छ । आरनमा हँसिया, कुटोकोदालो अर्चाप्ने वा मर्मत गरे वापत् वर्षको एकपटक अन्न दिइन्छ । अन्नको भरमा चल्दै आएको व्यवसाय अहिले पैसामा काम गर्ने चलनको विकास भएको छ ।
वालिङ नगरपालिका १० मोदिखोलामा रैपालाका सन्तबहादुर वि.कले आरन व्यवसाय गरेर आम्दानी गर्नुभएको छ ।
रोजगारीका लागि ४ वर्ष विदेशमा बसे पनि सोचेजस्तो कमाई नभएपछि घर फर्किएर आरन व्यावसाय सञ्चालन गरेका सन्तबहादुरले आफू सँगै विदेशबाट फर्किएका ७ जनालाई समेत रोजगारी दिनुभएको छ ।
वि.कले हँसिया कोदाली, बञ्चरो लगायतका कृषि औजार उत्पादन गरेर स्याङ्जा, पाल्पा, बुटवल, पोखरा लगायतका ठाउँमा विक्री गर्दे आउनुभएको छ ।
एउटा हँसियाको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्ममा विक्री हुने गरेको छ भने बन्चरोको एकहजार देखि २५ सयसम्ममा विक्री हुने वि.कले बताउनुभयो । वि.कले मासिक ३५ हजारसम्म कमाइ हुने बताउनुभयो ।
आरन व्यवसाय सञ्चालनको लागि आर्थिक अभाव भएकाले आफूले सोचे जस्तो काम गर्न नसकेको बताउँदै सरकारबाट केही सहयोग पाए आरन व्यवसायलाई राम्रोसँग सञ्चालन गर्ने बताउनुभयो ।
वि.कले मलेसियामा गएर काम गर्न कठिन भएको र काम अनुसारको तलब नपाएपछि फर्किएर आरन पेसा गरेको बताउनुभयो ।
वि.कले भन्नुभयो– ‘विदेशमा धेरै दुःख पाएँ । आफ्नै देशमा गएर दुःख गर्छु भन्ने सोच आयो । त्यसपछि स्वदेश फर्किएँ ।’ उनले थपे, ‘ मलेसियामा महिनाको ३० हजार कमाउथें । आरनबाट ३५ हजार कमाउँछु ।’