शम्भु दाहालबिर्तामोड । अहँ हुदैन, त्यतिमा हाम्रो साउनै उठ्दैन, के गर्नु ? किन्दै महंगो परेको छ । पारिबाट आउन छाडिहाल्यो । बिर्तामोडको कृषिथोकमा तरकारी किन्न जाँदा व्यापारीले यस्तै जवाफ दिन्छन् ।
विभिन्न ठाउँमा भएको बाढी तथा डुबान र तराईमा उत्पादनको कमीले बजारमा तरकारीको भाऊ बढेको हो । भारतबाट आयात हुने तरकारीमा अत्याधिक बिषादी भेटिएपछि अहिले आयात शून्य छ ।
भारतबाट नेपालतर्फ ल्याइएका तरकारी पनि विषादी चेकजाँचको लागि सिमानामै रोकिने गरेको छ । तरकारी सिमानामा धेरैदिन रोक्दा ट्रकमै सड्ने गरेको छ ।
किसानले उत्पादन गरेको तरकारी धेरै बिचौलियापछि मात्र उपभोक्तासम्म पुग्ने गरेको छ । उत्पादक र उपभोक्ताबीच बिचौलिया बढी भएको कारण तरकारीको मूल्य बढी हुने गरेको व्यवसायीहरू बताउँछन् ।
बर्खामा तरकारी उत्पादन तुलनात्मक रूपमा कमी आउनु, मौसम अनुसार उत्पादन वृद्धि नहुँदा मूल्य बढ्नुको अर्को काराण हो ।सर्वसाधारणको भान्सामा दैनिक उपभोगमा आउने आलु, काउली, गोलभेंडा, सिमी, बोडी, करेला, बन्दा लगायतका तरकारीको मूल्य अघिल्लो महिनाको तुलनामा तेब्बर वृद्धि भएको छ ।
उपभोक्ताले महंगो मूल्य हाल्दा पनि राम्रो तरकारी पाउन नसकेको गुनासो गरिरहेका छन् । प्रायःजसो तरकारीको मूल्य प्रतिपाऊ ४० रुपैयाँभन्दा कम नभएको बिर्तामोडकी पुष्षा अधिकारीले बताउनुभयो ।
वर्षामा तराईमा तरकारी उत्पादन नहुँदा पहाडबाट ल्याउनुपर्ने बाध्यता भएकाले पनि तरकारीको मूल्य बढ्ने गरेको व्यापारी बताउँछन् । बिर्तामोडमा रहेको कृषिथोक बजारमा सिमी, बोडी, करेला, भिन्जी काउलीको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ पर्छ । प्याज ४०, तामा १ सय, साग प्रतिमुठाको ६० र मुठा र स्कुस प्रतिकिलो ५० रुपैयाँ रहेको उपभोक्ता बताउँछन् ।
इलाम शान्तिपुरका कृषक राजन राईले टमाटर, सिमि, बोडी ३० रुपैयाँ प्रतिकेजी बेच्ने गरेको बताउनुभयो । ३० रुपैयाँ केजीको तरकारी बिचौलीयाका कारण उपभोक्तासम्म पुग्दा ४ गुणा महंगो हुने उहाँको भनाइ छ ।
कृषक हरि लामा भन्नुहुन्छ, ‘सरकारले सहकारीमार्फत् तरकारीको किनबेच गरे हामीले पनि उचित मूल्य पाउने थियौं । उपभोक्तले पनि कम मूल्यमा तरकारी किन्न पाउने थिए ।’
अत्याधिक विषादी भएका कारण काँकरभिट्टा नाकाबाट भित्रन कम भएको टमाटर सेटिङमा भद्रपुर नाकाबाट दैनिक भित्रने गरेको स्थानीयले बताए । क–कस्को सेटिङ छ ? न त प्रहरीले देख्छ न त स्थानीय सरकारले रोक्छ एक स्थानीयले बताउनुभयो ।
दैनिक २५ कुइन्टलको हाराहारीमा भारतबाट आउने तरकारी अहिले रोकिएको कृषि तथा थोक बजार व्यवस्थापन कार्यालयले जनाएको छ ।