सुखीलाल चौधरीउदयपुर । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ३१ युवाबाट ९० लाख उठाएर माओवादीका पूर्व लडाकुसहित तीन व्यक्ति फरार भएका छन् ।
लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका पूर्वलडाकु भुपाल थापा, त्रियुगा नगरपालिका–७ सहरेका भरत मगर र भेरी ओभरसिज प्रालिका सञ्चालक बाबुराजा सिग्देल युवाबाट रकम उठाएर फरार भएका हुन् । उनीहरुले वैदेशिक रोजगारको प्रलोभन देखाएर ३१ युवाबाट ९० लाखभन्दा बढी रकम लिएको आरोप छ ।
सेक्युरिटी गार्डका लागि माल्टा, अफगानिस्तान, चेक रिपब्लिक, पोल्याण्ड लगायतका देश पठाइदिन्छु भन्दै भुपाल र भरतले भेरी ओभरसिज प्रालि सिनामङ्गलमा २ लाख ५० हजारदेखि ४ लाखसम्म रकम बुझाउन लगाएका थिए । उनीहरुले पीडितलाई गएको मंसिरमा पेश्की स्वरुप ५० हजार र माघमा भिसा लाग्यो भन्दै २ लाखदेखि ४ लाखसम्म बुझाउन लगाएका थिए । पीडित युवा त्रियुगा नगरपालिकाकै हुन् ।
मेन पावर कम्पनीका सञ्चालक सिग्देलले भारत दिल्ली हुँदै अफगानिस्तान, माल्टा, चेक रिपब्लिक, पोल्याण्ड लगायतका देश रोजगारीका लागि पुर्याउने भन्दै रकम असुल गरेर फरार भएको त्रियुगा नगरपालिका–११ का पीडित पुरनबहादुर कार्कीले बताए ।
विभिन्न प्रलोभनमा पारी नक्कली ‘डिमाण्ड पेपर’ देखाएर आफूहरुलाई दिल्लीमा अलपत्र पारेर फरार भएको पीडित कार्कीले बताए । एनओसी पेपर आइसक्यो भनेर नेपालबाट उड्न मिल्दैन नयाँ दिल्लीमा सबै व्यवस्था गरिसकेको भन्दै दिल्ली पुर्याएर १७ दिनसम्म होटलमा राखेर घर फिर्ता पठाएकाे कार्कीले बताए ।
दिल्ली पुगेका युवालाई दुई सातापछि उडाउने आश्वासन दिएर घर फिर्ता पठाएको पीडित त्रियुगा नगरपालिका–७ सहरेकका विकास बलम्पाकी मगरले बतउँछन्। सातजनाबाट २ लाख पचास हजारदेखि ४ लाखसम्म रकम मेन पावरलाई बुझाएको मगरको भनाइ छ । ‘घरबारी धित्तो राखेर २ लाख ५० हजार ऋण निकालेर दिएको छु , कुनै–साथीले किस्ताबाट रकम निकालेर दिएका छन् ।’ मगारले बताए ।
सञ्चालक सिग्देल विरुद्ध वैदेशिक रोजगार विभाग, मानव अधिकार आयोग र अपराध महाशाखा टेकुमा कारबाहीका लागि उजुरी दिएको पीडित रामेछापका उमाकुण्ड गाउँपालिका–३ का प्रेमकुमार खड्काले बताए ।
न्यायका लागि जिल्ला प्रशासन उदयपुरमा गएपनि प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले क्षेत्रीय श्रम तथा रोजगार कार्यालय विराटनगर पठाएको पीडित खड्काकाे भनाइ छ ।
क्षेत्रीय श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलसँग सम्पर्क गर्दा, निवेदन मात्र होइन, पीडितलाई समेत पठाइदिनु भनेपछि विराटनगर पठाएको प्रमुख जिल्ला अधिकारी खड्काकाे भनाइ छ ।
मेन पावर कम्पनी पनि अहिले बन्द छ भने सञ्चालक सिग्देलले प्रयोग गर्ने मोबाइल ‘स्वीच अफ’ छ । यस्तै स्थानीय एजेन्ट भुपाल थापा र भरत मगरको समेत मोबाइल ‘स्वीच अफ’ रहेको पीडितको भनाइ छ । थापा माओवादीका पूर्वलडाकु हुन् ।
दलालको चंगुलमा युवामासिक एक लाखदेखि २ लाख ५० हजारसम्म कमाई हुने प्रलोभनमा परेर उदयपुरका ३१ युवा दललाको फन्दामा परेका छन् । उनीहरु घरबारविहीन बन्ने अवस्थामा पुगेका हुन् ।
अफगानिस्तान, माल्टा, चेक रिपब्लिक, पोल्याण्ड लगायतको देशमा पठाउने भन्दै जनही २ लाख ५० हजारदेखि ४ लाखसम्म रकम मेन पावरलाई बुझाएको पीडित युवाले बताएका छन् ।
आधा पैसा नेपाल र आधा पैसा सम्बन्धित देशमै कमाएर दिनु भन्दै प्रलोभन देखाएर पैसा मेन पावरलाई बुझाएकाले अहिले भएभरका सम्पति गुमाउन पुगेको त्रियुगा नगरपालिका–७ सहरेका इन्द्रबहादुर बलम्पाकी मगरले सुनाए ।
उनीमात्र होइन त्रियुगा नगरपालिका–७ सहरे कालीखोलाका झिल्लबहादुर मगर, सूर्यबहादुर मगर, रमेश मगर, अमृत आले मगर, मदन राई, विकास मगर, डिकबहादुर मगर, रामबहादुर राउत, बविन रिखाम पनि ठगिएका छन् । वत्यस्तै वडा नम्बर–७ का पुरनबहादुर कार्की, शेषराज मगर, नितेशकुमार मगर, डम्बर मगर, विवेचन समाल मगर, रामकुमार मगर ठगिएका छन् । वडा नम्बर–१४ साउनेका इन्द्रबहादुर मगर, गोविन्दबहादुर मगरका साथै त्रियुगा नगरपालिका–१५ खाँबुका रामबहादुर मगर, शिवकुमार मगर, भुवनकुमार मगर, सूर्यबहादुर मगर, खगेन्द्र मगर पनि ठगिएका हुन् । वडा नम्बर–२ जोगिदह मोथियायी हरिबहादुर कार्की, यमबहादुर कार्कीका साथै वडा नम्बर–४ बगहाका पूर्णबहादुर थापा मगर, नेपालटार गैयाका प्रदिप बस्नेत, बमबहादुर राई, राजेश श्रेष्ठ, मिलन भुजेल लगायत वैदेशिक रोजगारमा पठाउने दलालको चंगुलमा ठगिन पुगेका हुन् ।
उदयपुरका मात्र होइन गोर्खा, रामेछाप, सिन्धुपालचोक, धादिङ लगायतका २ सय ५० भन्दा बढी युवाको रकम ठगेर मेन पावर सञ्चालक फरार छन् ।
वैदेशिक रोजगार विभागका कर्मचारीले ढाँटे
वैदेशिक रोजगार विभाग काठमाडौंका कर्मचारीको दोहोरो रोल खेलेर पीडितलाई ढाँट्ने गरेको पुरनबहादुर कार्कीले बताए । कार्कीका अनुसार वैदेशिक रोजगार विभाग गएर कर्मचारीलाई कम्पनीका बारेमा बुझ्दा कर्मचारीले भेरी ओभरसिज प्रालि राम्रो कम्पनी भएको र वैदेशिक रोजगार विभागमा दर्ता भएर सञ्चालन भएको बताए थिए ।
दोषीलाई पक्राउ गर्न अपराध महाशाखाको ढिलाई
आजभोलि उडाउँछु भन्दै तीन महिना बितेपछि भेरी ओभरसिजका सञ्चालक बाबुराजा सिग्देललाई पक्राउ गर्न अपराध महाशाखा टेकुमा निवेदन दर्ता गराएको तर महिनौ बितिसक्दा पनि प्रहरीले आरोपीलाई पक्राउ नगरेकाे पीडित शेषराज मगरले बताए ।