गणेश आचार्यदाङ । सञ्चारउद्यमी देवीप्रसाद धिताल (हेमराज)को हत्या भएको नौ वर्ष पुगेको छ । तर, उनको हत्या कसले र किन ग¥यो भन्ने प्रश्न अझै अनुत्तरित छ । प्रहरीले हत्यारा पहिचान गर्नु त क्षितिज पारिको कुरा, हत्यामा संलग्नहरुको स्पष्ट स्केचसम्म तयार गर्न सकेको छैन ।
२०६७ साउन ६ गते सञ्चारउद्यमी हेमराज नेपाली कांग्रेसको जिल्ला अधिवेशनक्रममा साविकको उरहरीस्थित हेमनगरका गुरुप्रसाद शर्माको घर पुगेका थिए । उनका साथमा कान्तप्रसाद वली र घरधनी गुरुप्रसाद रेग्मी । हेमराज कहाँ छन् भन्ने स्वयम् हेमराज, कान्तप्रसाद र गुरुप्रसाद बाहेक अरुलाई थाहा थिएन । उनीहरुबीच कांग्रेसको जिल्ला अधिवेसनबारे छलफल भएको थियो । छलफल चलिरहँदा नरेन्द्र बुढाथोकीले कान्तप्रसादलाई फोन गरेर लोकेसन मागेका थिए ।
नरेन्द्रसँग मोबाइलमा कुराकानी भएको केही समयमै कान्त र हेमराज गुरुप्रसादको घरबाट निस्किए । कान्त गेटभित्र सुर्ती मिच्न थाले भने हेमराजले बाइक स्टार्ट गरे । हेमराज बाइकमा चढ्ने बित्तिकै उनीमाथि गोली वर्षाइयो ।
हेमराज त्यो दिन कहाँ छन् भन्ने स्वयम् हेमराज, कान्त र गुरुप्रसादबाहेक अरु कसैलाई थाहा थिएन । त्यो भेटघाट अत्यन्त गोप्य थियो । गोप्य भेटघाट भइरहेको घरको गेटमा ढुकेर आपराधिक समूहले हेमराजको हत्या कसरी ग¥यो ? प्रश्न गम्भीर छ । हेमराज कहाँ छन् भन्ने कुरा कान्तलाई फोन गर्ने नरेन्द्र बुढाथोकीले थाहा पाए । स्वयम् हेमराज, कान्त र गुरुप्रसादसँगै हेमराजको लोकेसन थाहा पाउने नरेन्द्र चौथो व्यक्ति हुन् । नरेन्द्रले लोकेसन मागेको केहीबेर पछि हेमराजमाथि गोली हानिएको छ । तर, प्रहरीले नरेन्द्रले किन लोकेसन मागे ? यस विषयमा अनुसन्धान गर्न आवश्यक ठानकोे छैन । गुरुप्रसादको घरको गेटमै गोली हानिएपछि हेमराज गेटभित्र जान खोजे । तर, गेट लगाएर उनलाई भित्र पस्नसमेत दिइएन । आफैँले गेट बन्द गरेका गुरुप्रसादले भने आफूले गोली चलेको थाहा नपाएको दाबी गर्छन् ।
प्रत्यक्षदर्शी उमा बस्नेतका अनुसार गेटभित्र पस्न नदिइएपछि हेमराज छेउमै रहेको घरतिर भागे । उनलाई आपराधिक समूहले लखेटिलखेटी गोली हानेर ढाल्यो । हेमराज छट्पटाइरहे । हेमराजलाई गोली हानेपछि हत्यारा घटनास्थलबाट पूर्वतर्फ भागे । गोली लागेर छट्पटाइरहेका हेमराजलाई उपचारका लागि तुलसीपुर ल्याइँदै गर्दा बाटोमै मृत्यु भइसकेको थियो । उनको हत्या भएको नौ वर्ष पुगिसक्यो तर, प्रहरी भने घटनामा संलग्नको पहिचान गर्न सकिरहेको छैन ।
हत्यामा देवराज, गुरुप्रसाद र कान्तको हात : परिवारसञ्चार उद्यमी हेमराज मारिएको नौ वर्षसम्म पनि हत्यारा पहिचान नहुँदा परिवारका सदस्यका आँखाबाट झरेका आँशु ओभाएका छैनन् । स्वर्गीय हेमराजका भाइ पुष्करका अनुसार, हेमराजको हत्यामा संलग्न भएको आरोपमा तुलसीपुर–११ नवलपुरका तुलसीराम विक उर्फ देवराज ठाकुरलाई पक्राउ गर्न नेपालगञ्जस्थित उनको होटेल हंगेरीमा छापा हानियो ।तर, देवराज प्रहरीलाई झुक्याउँदै भाग्न सफल भए ।
देवराज त्यहीबेला कपडा नै नलगाई टाबेल र गन्जीमै भागेर भारत पुगेर फोन गरेको पुष्कर सुनाउँछन् । भन्छन्, ‘दाइको हत्यामा कुनै न प्रकारले देवराजको हात छ । यदि हत्यामा संलग्न नभएको भए प्रहरीले पक्राउ गर्न खोज्दा किन भाग्नु परेको थियो ?’
प्रहरीले छापा मार्दा भाग्ने देवराजलाई पक्राउ गरी अनुसन्धान गरे हत्यारा पत्ता लाग्ने पुष्करको दाबी छ । देवराज भारतीय व्यापारी निर्मल सिंह भंगुका घरेलु कामदार हुँदा त्यहाँबाट दाङका केही युवाले हीरामोतीसहित केही नगदसमेत चोरेर ल्याएपछि हेमराजले ती हीरामोती फिर्ता गराइदिएका थिए । हेमराज केही साथी र प्रहरीका साथ भारत पुगेर हीरामोती भंगुलाई बुझाइएको जानकारहरु बताउँछन् ।
३२ वर्षका उमेरमा श्रीमान् गुमाएकी हेमराजकी पत्नी मन्जु हेमराजकोबारे कसैले सोध्दा भकानिन्छिन् । बोल्दा आँखाबाट आँशु बग्छ, गला अवरुद्ध हुन्छ । बोल्दा बोली बीचमै अडिन्छ । यस्तै अवस्थामा उनले जनता समाचारलाई प्रतिक्रिया दिँदै भनन्, ‘प्रहरी आर्थिक प्रभाव र राजनीतिक दबाबमा परी श्रीमान्का हत्यारा खोज्नतिर लागेन ।’भाइटीका आउन तीन महिना मात्रै बाँकी रहँदा जेठो भाई गुमाएकी हेमराजकी दिदी पार्वता हत्यामा संलग्न भएको दावीसहित गुरुप्रसाद शर्मा र कान्तराम ओलीविरुद्ध किटानी जाहेरी दिँदासमेत प्रहरीले उनीहरुलाई पक्राऊ नगरी अपराधीको पक्षपोषण गरेको बताउँछिन् ।
यस्ता छन् हत्याका कारणहेमराज त्यतिबेला सामुदायिक रेडियो तुलसीपुरका अध्यक्ष थिए । रेडियोमा अध्यक्ष हुँदै नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि बन्ने योजनामा थिए । जानकारहरुका अनुसार, उनी महाधिवेसन प्रतिनिधि बनेर दाङ कांग्रेसमा हावी हुने भित्री मनोकांक्षा थियो । त्यतिबेलै उनको हत्या भयो । त्यतिबेला दाङमा टाइगर ग्रुपले श्रृंखलावद्धरुपमा आपराधिक घटना दोहो¥याइरहन्थ्यो । कहिले व्यापारीसँग चन्दा आतंक त कहिले अपहरणदेखि व्यक्ति हत्यासम्म ।
हेमराज त्यहिबेला ठेक्कापट्टा पनि गर्थे । तुलसीपुरस्थित १९ नम्बर बाहिनीको रासनको ठेक्का उनैलाई परेको थियो । टाइगर ग्रुपले सबै व्यापारी र ठेकेदारसँग तोकेरै चन्दा माग्थे । तर, टाइगर ग्रुपको निसानामा हेमराज कहिल्यै परेनन् । अनौपचारिक रुपमा प्रहरी अधिकारीहरु टाइगर ग्रुप सञ्चालनमा उनको पनि हात थियो भन्छन् । उनी तुलसीपुरमा युवाको समूहलाई हातमा लिएर ठेक्कापट्टा मिलाउने काम गर्थे । अझ भनाैं तुलसीपुरमा एकछत्र राज चल्थ्यो उनको । हेमराज आफैँमा पैसावाल मान्छे थिए । त्यसमा पनि चोरी भएका बहुमूल्य हीरामोती फिर्ता गराइदिएपछि भारतीय व्यापारी निर्मल सिंहका विश्वास पात्र भइसकेका थिए । त्यसकारण पनि उनलाई पैसाको कमी थिएन भनिन्छ ।
त्यति नै बेला खुमबहादुर खड्का शक्तिमा थिए, हेमराज खुमबहादुरका दाहिने हात नै थिए । खुमबहादुरको दाहिने हात भएकै कारण दाङमा प्रहरी, प्रशासनमा उनको बोली बिक्थ्यो । कुनै कुरा सिफारिस गरे प्रहरीका हाकिमहरु काट्न सक्दैनथे । कुटपिट र युवाबीचको ग्याङवार उनी एक कल फोनका भरमा मिलाउँथे । यसैले हेमराज तुलसीपुरमा सबैका ‘दाइ’ बनेका थिए । तर, खुमबहादुरसँग हेमराज निकट भएको उनका राजनीतिक प्रतिस्पर्धीलाई मन परेको थिएन ।जानकारहरुका अनुसार टाइगर ग्रुपको संरक्षण गर्नेमा उनीसँगै तुलसीपुरका अरु व्यापारी र यातायात व्यवसायी पनि थिए । उनीहरुसँग हेमराजको अघोषित ‘टसल’ सुरु भइसकेको थियो । त्यही टसलका कारण उनको हत्या गर्ने योजना भित्रभित्र बनिरहेको पनि हुन सक्छ । प्रहरी अधिकारीहरुका अनुसार, तीन समूहको स्वार्थ बाँधिएपछि हेमराजको हत्या गरिएको हो । यद्यपि प्रहरी अधिकारीहरु चेन अफ कमान्डका कारण औपचारिक रुपमा यो कुरा बोल्दैनन् । उनीहरुका अनुसार, दाङमा खुमबहादुरको नजिक को बन्ने भन्ने राजनीतिक प्रतिस्पर्धा, भारतीय व्यापारी निर्मल सिंह भंगुसँग को नजिक बन्ने भन्ने होड र तुलसीपुरका गुन्डा कसले कब्जा गर्ने भन्ने स्पर्धाका कारण तीनवटै समूह मिलेर लामो योजना बनाएर हेमराजको हत्या गरिएको हो ।
कहाँ पुग्यो अनुसन्धान ?दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल प्रहरी हेमराज हत्यारा पत्ता लगाउन लागिरहेको र अनुसन्धान नसकिएकाले केही भन्न नमिल्ने बताउँछन् । दाङ प्रहरी प्रमुख एसपी बेलबहादु पाण्डेका अनुसार, हेमराजको हत्यामा प्रयोग गरिएको हतियार अझैसम्म प्रहरीले फेला पार्न सकेको छैन । ‘उहाँको हत्या भएको स्थानमा फेला परेको गोलीको खोका हाम्रो ल्याबमा छ,’ उनले भने, ‘तर, हत्यामा प्रयोग भएको हतियार बरामद भएको छैन । त्यो हतियार अझै आपराधिक समूहसँगै छ ।’
अनुसन्धान जारी छ भन्ने सुरक्षा संयन्त्रको पुरानै बनिबनाउ जवाफ हो । प्रहरीले मान्छे मारिएको नौ वर्षसम्म पनि एकजना अभियुक्त पक्राऊ गर्न त परको कुरा हत्यामा संलग्नको स्पष्ट स्केचसम्म तयार नगरी अनुसन्धान जारी भन्नु संसारकै उत्कृट मजाकबाहेक अरु केही हुन सक्दैन ।
अहिले हेमराज हत्याकाण्ड अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ । सिआइबी स्रोतका अनुसार, यो घटनाको अनुसन्धान करिब अन्तिम चरणमा छ । सिआइबी हेमराजको हत्यामा तत्कालीन माओवादीका शिविरमा रहेका लडाकु प्रयोग भएको निष्कर्षमा पुगेको स्रोतको दाबी छ । सिआइबीले हत्यामा संलग्न भएको आशंकामा माओवादीका पूर्व लडाकुलाई नियन्त्रणमा लिएर सोधपुछसमेत गरिसकेको छ । विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको सिआइबीको टोली हत्यामा संलग्नलाई पक्राउ गर्न दाङ आएका बेला ती संदिग्ध व्यक्ति पक्राउ पर्ने सूचना पाएर भागेका थिए ।
हेमराजको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सिआइबीको टोली आएको इप्रका तुलसीपुरलाई मात्रै थाहा थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरले नै सिआइबीको टोलीलाई गाडीको बन्दोबस्त मिलाएको थियो । तैपनि हत्यामा अभियुक्त आशंका गरिएका फरार हुनुले तुलसीपुरमै कार्यरत प्रहरीले त अभियुक्त भगाएका होइनन् भन्ने आशंका संगठनमा छ । त्यति मात्रै होइन, सिआइबीलाई हेमराज हत्याका अभियुक्तलाई पक्राउ नगर्न पूर्व माओवादी र नेपाली कांग्रेसका हाइप्रोफाइलका नेताहरुले दबाब दिँदै आएको सिआइबी स्रोतको भनाइ छ । सिआईबी एक अनुसन्धान अधिकारीका अनुसार हेमराज हत्याका मुख्य योजनाकार कांग्रेस सम्वद्ध व्यक्ति हुन् ।
तत्कालीन समयमा माओवादी नेताहरुसँग राम्रो हिचमिच भएका उनले माओवादीका एक जिल्लास्तरका नेतालाई ‘हेमराज’ले तपाईंको हत्या गर्ने योजना बनाएका छन् । विचार गर्नुस् भनेर त्रसित पारेको र सोही त्रासका कारण ती माओवादी नेताले संग्रामस्थित लडाकु शिविरबाट लडाकु ल्याएर हत्या गरेको निष्कर्षमा सिआइबी पुगेको उच्च प्रहरी अधिकारी ‘घुमाउरो’ सँग बताउँछन् । ती प्रहरी अधिकारीले हत्या योजना बनाउने र हत्या गर्ने व्यक्तिका नाम भने खुलाएनन् । प्रहरी स्रोतका अनुसार, हेमराजको हत्यामा प्रयोग गरिएको हतियार अनमिनले प्रमाणिकरण गरेको हो । त्यो हतियार अहिले माओवादीले राज्यलाई बुझाइसकेकाले राज्यकै नियन्त्रणमा छ ।
हेमराजका हत्यारालाई पक्राउ गरिएको भए अपराधीको मनोबल घट्थ्यो र त्यस्ता किसिमका आपराधिक घटना दोहोरिने सम्भावना कम हुन्थ्यो । त्यसैले प्रहरीले उनको हत्यामा संलग्न अपराधीलाई कसैको दबाब र प्रभावमा नपरी कानुनको पासोमा बल्झाउन जरुरी छ ।