मदन ढुङ्गाना
काठमाडाैं । नेपाल विकासोन्मुख मुलुक । त्यसैले यहाँ लगानी गर्नमात्रै होइन, लगानीको प्रतिफल पाउन पनि उत्तिकै सहज छ । लगानी त्यहाँ गरिन्छ, जहाँ बढी नाफा हुन्छ ।
नेपालमा कर निर्धारण तथा अनुगमनमा देखिएको कमजोरी र यसैमा खेलोफड्को गरेर फाइदा उठाउन पाइने ठान्छन् लगानी कर्ताहरु । अझ कर छली गर्नेको सङ्ख्या बढ्दो मुलुक पनि । कानुनी अस्पष्टता, बिकाउ कर्मचारी र राजनीतिक संरक्षणका कारण करमा व्यापक छली हुने गरेको देखिएको छ । यसको ज्वलन्त उदाहरण हो, नेपालकै ठूलो करदाता एनसेल प्रकरण ।
भ्याएजति राजश्व छली गर्दा पनि एनसेलले धेरै कर तिरिरहेको छ भने तपाईँ अनुमान गर्नुस्, यदि नियमपूर्वक कर तिरिरहेको भए उसले कति कर तिर्नुपथ्र्यो होला ।
यस्तो छ एनसेलको सुरुवातदेखिकै करछली श्रृंखलाः
मोबाइल सेवामा नेपाल टेलिकम अर्थात् सरकारपक्षको एकाधिकार रहेका बेला २०५८ असारको ७ गते जिएसएम मोबाइल सेवा प्रदान गर्न स्पाइस नेपाल प्रालि दर्ता भयो । त्यतिबेला एउटा मोबाइल सिमकार्ड किन्न २ दिनसम्म लाइन बस्नुपथ्र्यो ।
२ दिन लाइनमा बसेर पनि एउटा सिमकार्ड किन्न ५ हजार रुपैयाँको हाराहारीमा शुल्क तिर्नुपथ्र्यो । अझ देशभर घुम्न जाँदा मोबाइलमा ‘रोमिङ’ शुल्क तिर्नुपथ्र्यो । यद्यपि पेजर सेवा बिस्तारै बिस्थापित भइरहँदा नेपालमा मोबाइल सेवाको भविष्य चम्किरहेको थियो ।
मोबाइलमा राम्रो फाइदा सोचेर व्यापारिक समूह खेतान समूह, भारतीय टेलिकम कम्पनी
मोदी कर्पोरेशन र स्पाइस सेल इण्डियाका नाममा एक करोड रुपैयाँ चुक्ता पुँजी राखेर स्पाइस नेपाल प्रालि दर्ता भयो । भारतीय टेलिकम कम्पनी मोदी कर्पोरेसनको ५५ प्रतिशत, नेपाली व्यापारिक समूह खेतान ग्रुपको ४० प्रतिशत र स्पाइस सेल इण्डियाको ५ प्रतिशत शेयर संरचना खडा गरेर स्पाइस नेपाल प्रालि दर्ता भभाे । यसमा मोदी कर्पोरेसनले ५५ लाख, खेतान समूहले ४० लाख र स्पाइस सेलले जम्मा ५ लाख लगानी गर्यो ।
२०५८ मा स्थापना भएको स्पाइस नेपालले मोबाइल सेवाको काम शुरु गर्दा ३ वर्ष बित्यो । यसबीचमा स्पाइस नेपालले लाइसेन्स लिने, पूर्वाधार विकास गर्ने लगायतका काम ग¥यो । मोबाइल सेवा सञ्चालन गर्ने दिन नजिकिँदै गर्दा २०६१ मंसिर ३ गते भारतीय टेलिकम कम्पनी मोदी कर्पोरेशन र खेतान समूहले आफ्नो भागमा रहेको शेयर बिक्री गर्ने सम्झौता ग¥यो ।
मोदी कर्पोरेसन र खेतान समूहले आफ्नो भागमा रहेको ९५ प्रतिशत शेयर नेपालका अर्का व्यापारिक समूह राज ग्रुपलाई सबै शेयर बेच्ने निर्णय ग¥यो । त्यतिबेला राज ग्रुपका अध्यक्ष थिए, तत्कालीन राजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंह र प्रबन्ध निर्देशक थिए हेटौँडाबाट काठमाडौँ आएका समिल तथा चुन उद्योग व्यापारी अजेयराज सुमार्गी ।
मंसिर ३ गते खरीदबिक्री सम्झौताको लिखत कम्पनी रजिष्टार कार्याल्यमा बुझाएका उनीहरुको शेयर दाखिला र खारेज मंसिर ४ गतेको मितिमा भयो ।
राज ग्रुपले २०६१ साल जेठ २४ गते भारत सरकारको समेत लगानी रहेको मोदी कर्पोरेशन लिमिटेडको पचपन्न हजार कित्ता शेयर प्रतिकित्ता ३ सय ६३ रुपैयाँ ६३ पैसामा खरीद गर्ने सम्झौता ग¥यो । त्यतिबेला तत्कालीन स्पाइस नेपाल प्रालिको शेयरको फेस भ्यालु १ सय रुपैयाँ मात्रै थियो ।
हेर्नुहोस्, राज ग्रुपले मोदी कर्पोरेशनसँग शेयर खरीद गर्न गरेको सम्झौता ।
यो शेयर खरीदविक्रीको लगत हेर्दा राज ग्रुपले मोदी कर्पोरेशनसँग मोलमोलाईमा प्रतिकित्ता ३ सय ६३ रुपैयाँ ६३ पैसा अर्थात् ५५ हजार कित्ता शेयरलाई २ करोडमा किनेको देखाइएको छ ।
५ रुपैयाँमै एनसेलको शेयर !
राजग्रुपले मंसिर ३ गते कम्पनी रजिष्टारको कार्यालयमा बुझाएको शेयर लगतमा अर्को शेयर खरीदको सम्झौता पनि छ । २०६१ साल भदौ २४ गते नेपालको व्यापारिक घराना खेतान समूहबाट शेयर किन्ने सम्झौता गरेको छ राज ग्रुपले ।
यो सम्झौताअनुसार १ सय रुपैयाँ फेस भ्यालु रहेको खेतान समूहको ४० हजार कित्ता शेयर राज ग्रुपले जम्मा २ लाख रुपैयाँमा खरीद गरेको छ । एकातिर लिमिटेड कम्पनी रहेको मोदी कर्पोरेसनको शेयर प्रतिकित्ता ३ सय ६३ रुपैयाँ ६३ पैसामा किन्ने तर सोही दिन नेपालीसँग किनेको शेयरचाहिँ जम्मा ५ रुपैयाँ प्रतिकित्तामा ?
आखिर किन गरियो यो छलछाम ? एकैसमय गरिएको शेयर खरीदमा दुई कम्पनीको शेयरमा दुईवटा मूल्य किन ? विषय स्पष्ट नै छ, कम मूल्यमा शेयर खरीद गरेको देखाएपछि लाभकर तिर्नु पर्दैन । हो, खेतान समूहले ५ रुपैयाँ प्रतिकित्तामा शेयर बेच्नै सक्दैन र बेचेको पनि होइन । तर कर नतिर्ने नियतका साथ खेतान समूह र राज ग्रुपको मिलेमतोमा यो करछली धन्दा चलाइएको हो ।
हेर्नुहोस्, खेतान समूहसँग शेयर खरीद गर्नेबारे राजग्रुपको सम्झौतापत्र ।
करछलीको श्रृङ्खला यहीँबाट सुरु भएको देखिन्छ ? तर न्युन मूल्यांकन गरेर किन शेयर खरीद गरियो भनेर अहिलेसम्म खोजी भएकै छैन ।
राज ग्रुपले मोदी कर्पोरेशन र खेतान समूहसँग किनेको ९५ हजार कित्ता शेयरमध्ये ५७ हजार कित्ता शेयर त्यसको २ महिना नबित्दै पुस २९ गते साइप्रसको डाल्टोट्रेड लिमिटेडलाई बिक्री गरिएको छ । डाल्टोट्रेडलाई शेयर बिक्री गर्दा जम्मा १ सय रुपैयाँ प्रतिकित्ताकै दरमा बिक्री गरिएको छ ।
जबकी मोदी कर्पोरेसनसँग ३ सय ६४ को हाराहारीमा किनिएको शेयर आखिर राज ग्रुपका अजेयराज सुमार्गी र राजबहादुर सिंहले किन १ सय रुपैयाँ प्रतिकित्तामै बिक्री गरे ? यसको छानबिन पनि अहिलेसम्म भएको छैन ।
डाल्टोट्रेडले राज ग्रुपबाट शेयर किनेको मात्र ११ दिन अर्थात् २०६१ को माघ १० गते वेष्ट इण्डिजको रिनोल्डस् होल्डिङस् कम्पनीलाई अधिकांश शेयर बिक्री गरेको छ । डाल्टोसँग रहेको ५७ हजार कित्तामध्ये ४० हजार कित्ता शेयर रिनोल्डस् होल्डिङलाई १ सय रुपैयाँ प्रतिकित्ताकै दरमा बिक्री भएको छ ।
२०६२ असोज १ गतेबाट मेरो मोबाइल सञ्चालनमा आएपछि २०६२ फागुन ११ गते डाल्टोट्रेडले आफ्नो नाममा रहेको बाँकी शेयर पनि रिनोल्डस्लाई नै बेचेको छ । त्यो पनि प्रतिकित्ता १ सय रुपैयाँकै दरमा किनबेच भएको छ ।
यता राज ग्रुपले आफ्नो नाममा रहेको केही शेयर २०६२ साल चैत १८ गते महतो समूहको सिनर्जी नेपाललाई बिक्री ग¥यो । त्यतिबेला पनि राज ग्रुपले प्रतिकित्ता जम्मा १ सय रुपैयाँमै बिक्री गरेको छ । बिक्रीको यो श्रृङ्खलामा सिनर्जी नेपालले २०६३ वैशाख ३ मा भारतीय कम्पनी स्पाइस सेलको स्वामित्वमा रहेको १ लाख १४ हजार कित्ता शेयर पनि प्रतिकित्ता १ सय रुपैयाँमै खरीद गरेको छ ।
२०६६ मा आफ्नो सबै शेयर बेचेर राजग्रुप तत्कालीन स्पाइस नेपालबाट बाहिरिएको छ । राज ग्रुपले आफ्नो नाममा रहेको सबै शेयर प्रतिकित्ता १ सय रुपैयाँकै दरमा बिक्री गरेको छ । जबकि २०६५-६६ मा मेरो मोबाइलले मोबाइल सेवामा वर्चस्व जमाइसकेको थियो र मोबाइल कम्पनी राम्रो नाफामा थियो ।
कुरो स्पष्ट छ, कुन उद्धेश्यले किन यति धेरै नाफामा गएको मोबाइल सेवा प्रदायकको शेयर प्रतिकित्ता १ सय रुपैयाँकै दरमा बिक्री भएको थियो । राज ग्रुपले कहाँ कहाँ कसरी चलखेल र जालझेल गरेको थियो ? लाभकर छल्न के के हतकण्डा अपनाइएको थियो, यहीँबाट प्रष्ट हुन्छ ।
(एनसेलको कर छली श्रृङ्खलाबारे जनता टेलिभिजनमा प्रसारित बाइलाइन हेर्न यहाँ क्लिक गर्नुहोला ।)