खोटाङ । जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल मझुवागढी क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यापारिक दिक्तेलबजार नजिकै पर्ने ऐतिहासिक मझुवागढी, कालिका भगवती, मझुवामाई र बुद्धेश्वर गुफा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।
हलेसी आउने तीर्थालुले कालिका भगवती, मझुवामाई र बुद्धेश्वर गुफाको दर्शन नगरे तीर्थ अपूरो हुने विश्वास छ । त्यस्तै किराँत उत्पत्तिको थलो मानिएको तुवाचुङ जायजुम आउने समेत मझुवागढी नआएसम्म अधुरो यात्रा हुने मनोकांक्षामा यस क्षेत्रमा तीर्थालुहरु आउने गर्छन् ।
हिन्दू तीर्थयात्रीहरु हलेसीको दर्शनपछि कालिका भगवती, मझुवामाई, बुद्धेश्वर गुफामा पूजा आराधना गरे चिताएको पुरा हुने जनविश्वासमा यहाँ आउने गरेको मझुवामाइका पुजारी छवि आचार्यले बताउनुभयो । त्यसैगरी तुवाचुङ जायजुम आउने किराती समुदायका तीर्थालुसमेत मझुवागढी आउने गरेका छन् ।
मझुवागढी आउने पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिल ट्रस्ट तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउने पानीको व्यवस्था गरिएपछि यस क्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय बताउँछन् ।
तराईका समथर भू–भागदेखि हिमशृङ्खलासम्म दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको दिनमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीय बताउँछन् ।