सिन्धुपाल्चोकबाट फर्केर रामकुमार एलन, तस्बिरहरुः विपिन श्रीवास्तव र अमृत भट्टलामोसाँघु तामाकोशी जिरी सडक । अर्थात् संघीय राजधानी काठमाडौं पूर्वका चार जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप र ओखलढुङ्गाका स्थानीयको लाइफलाइन । १ सय १० किलोमिटर दूरीको सडकमा यातायात चल्न थालेको २०३३ सालबाटै हो । यतिमात्र होइन, कोदारी राजमार्ग सञ्चालनमा आएपछि सगरमाथा जाने बाटो पनि हो लामोसाँघु तामाकोशी जिरी सडक । यातायात सञ्चालनको ४५ वर्षमा पनि सडक सुध्रिएको छैन ।
खाडीचौरबाट २५ किलोमिटर सडक सन २०१५ मा पिच गर्न सुनौलो खिम्ती कन्स्ट्रक्सनलाई ठेक्का दिइयो । तर ठेकेदार भीमसेन भण्डारीले काम गरेनन् । अनेक व्यवधानपछि भण्डारी थुनामा परे । थुनामा परेपछि साझेदार रहेका गौरी पार्वती कन्स्ट्रक्सनका रामकुमार थापाले सडक बनाउने जिम्मा लिए ।
थापाले जिम्मा लिएको सडकको ९ किलोमिटर त बन्यो पनि । तर २०७५ चैतभित्र सकिनु पर्ने काम ९ किलोमिटरमा सीमित भयो । अनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका र लिशंखुपाखर गाउँपालिकाका भूभाग अहिले सडक होइन, रोपाईं गर्ने थलोजस्तो भएपछि दोलखा, रामेछाप र ओखलढुंगाका जनताको कुरै छाडौँ, सिन्धुपाल्चोकै जनता दुःखमा छन् ।
हो, पछिल्लो समय २५ किलोमिटर ठेक्काको लागत बढेर ५० करोड रुपैयाँ पुगेको छ । तर ३९ करोड, ४४ करोड हुँदै ५० करोड रुपैयाँ लागत । काम सकिनु पर्ने २०७५ चैतमा । जम्मा ९ किलोमिटर सडक बनेको छ ।
लामोसाँघु तामाकोशी जिरी सडकको सिन्धुपाल्चोक खण्ड अन्र्तगत मुख्यगरी १२ किलोमटिरदेखि १८ किलोसम्ममा बढी समस्या खेपिरहेका छन् स्थानीय । ठेकेदारले प्रतिवद्धताअनुसार काम गरेनन् । जनताले दुःख पाए । चारजिल्लाको लाइफलाइन यसरी हिलाम्मे हुँदा अरु त अरु राज्यकै सदस्यहरु यसरी लडिरहेका छन् । जनताले कति सास्ती पाए होलान् ?
दोलखाको चरिकोटदेखि खाडीचौरसम्म ५५ किलोमिटर सडक पार गर्न १४ घण्टा भन्दा बढी लाग्ने गरेको छ । लामोसाँघु जिरी सडक सुधार आयोजनाले सडक सुधार नभए सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ (संसोधन सहित) बमोजिम ठेक्का सम्झौता तोडेर कार्यसम्पादन जमानत तथा धरौटी रकम जफत गर्ने भनेपछि अहिले निर्माणको केही काम भइरहेको छ ।
सन् १९७५ देखि १९८५ सम्म स्विस सरकारको सहयोगमा निर्माण भएको अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको खाडीचौरबाट दोलखाको जिरीसम्म ११० किलोमिटर लामोसाँघु जिरी सडकको चौडा बढाउने कार्य भैरहेको छ । अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरउन्नती कार्य दुईवर्ष अर्थात २०१७ को अक्टोबरसम्ममा सकिनुपर्नेमा ५० प्रतिशत पनि काम नसकिएपछि हामी स्थलगत रिपोर्टिङमा पुग्यौँ ।
निर्माण कम्पनी सीमाञ्चल–गौरी पार्वती–सुनौलो खिम्ती जेभीले खाडीचौरको जिरो किलोदेखि मुडे नजिकै २५ किलोमिटर सडक सुधारको जिम्मा पाएको थियो । जिरो किलोदेखि ८ किलोमिटरसम्म कालोपत्रे सकिए पनि त्यो भन्दा माथि सब बेसको कामसमेत भएको छैन ।
नेपालका अधिकांश ठेक्कापट्टा काम समयमा सकिँदैनन् । निर्माण कम्पनीलाई पटकपटक चेतावनी दिनु पर्छ । यस्तै भएको छ, लामोसाँघु तामाकोशी जिरी सडक सुधार आयोजनामा पनि । २५ किलोमिटर सडक बनाउन दिइएको ठेक्का सम्पन्न नहुँदा स्थानीय सास्ती खेप्दैछन् । पूर्वका चार जिल्लाको लाइफलाइन बिचल्लीमा छ । दोलखाको पर्यटकीय सपना पनि यही हिलोमा पुरिएको छ । कामना गरौँ, ठेकेदारले समयमा काम गरुन्, योजना सम्पन्न भएर चिल्लो सडकमा सवारी साधन गुडेको, जनताले खुशी व्यक्त गरेको देखाउन पाउँ, लेख्न पाउँ छिट्टै ।
लामोसाँघु तामाकाशी जिरी सडकको दुर्दशाबारे कभरेज भएको जनता टेलिभिजनको कार्यक्रम बाइलाइनको २०७६ साउन १५ गते प्रसारित शृंखला पनि हेर्नुहोस्:https://www.youtube.com/watch?v=MDCY_vba52E