हिमलाल पराजुलीस्याङ्जा। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले परम्परागत निर्वाहमुखी कृषि प्रणालीबाट समृद्धि नआउने बताउनु भएको छ । वालिङ नगरपालिकास्थित १२ र १४ नम्बर वडामा सामुहिक कागती खेती अभियानको शुरू गर्दै मन्त्री अर्यालले सरकार व्यवसायिक खेती गर्ने किसानको खोजिमा रहेको बताउनुभयो ।
किसानको प्रगतिका लागि सामुहिक कृषि प्रणालीको विकल्प नभएको बताउँलै मन्त्री अर्यालले किसानले उत्पादन गरेका वस्तुको जिम्मा सरकारले लिने बताउनुभयो । आधुनिक युगमा मुलुकलाई अगाडी बढाउन कृषिमा पनि प्रविधिको आवश्यक रहेकाले यो अभियान सुरु गरेको मन्त्री अर्यालको भनाइ छ ।
सामूहिक खेतीको वालिङको थुमपोखराबाट सुरु गरिएको अभियानलाई देशैभरी विस्तार गरिने बताउँदै उहाँले जिल्लालाई कागती सुपरजोनको रूपमा घोषणा गरिने बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘सुन्तला, कफी सुपरजोन हुने कागती सुपरजोन किन नहुने ?’
कार्यक्रममा गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्री लेखबहादुर थापाले प्रदेश सरकार सामूहिक प्रणालीमा काम गर्ने किसानलाई सहयोग गर्ने निर्णय नै गरेर अगाडी बढेको बताउँदै उत्पादनलाई बढवा दिन पनि सामूहिक कृषि प्रणालीको आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारी बोर्डले साना किसान सहकारीका माध्यामबाट सामूहिक खेती गर्ने किसानलाई सहयोग गर्ने बताउनुभयो । थुमपोखरा साना किसान कृषि सहकारीका माध्यामबाट काम गर्ने योजनाका साथ सामूहिक कागती खेती अभियानको लागि ४९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताउँदै सो रकम कामका आधारमा उपलब्ध गराउने बताउनुभयो ।
कागती खेती अभियानको नेतृत्व गर्नुभएका भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव टेकप्रसाद लुइँटेलले अहिले ६ सय रोपनी जमिनमा १५ हजार कागतीका बिरुवा लगाउने र एकवर्ष भित्रमा एक हजार रोपनीमा ३० हजार कागतीका बिरुवा लगाउने बताउनुभयो ।
थुमपोखरा साना किसान कृषि सहकारीका अध्यक्ष मोहन खनालले जग्गाको क्षेत्रफलको आधारमा १ रोपनीको ५ हजारका दरले शेयर राखेर कामको सुरुवात गरिएको र १ सय २० घर परिवार सामूहिक कागती खेतीमा सहभागी भएको बताउनुभयो । राष्ट्रिय सहकारी बोर्ड, गण्डकी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र किसानको गरी करिब एक करोडको लागतमा कामको सुरुवात गरिएको सहकारका अध्यक्ष खनालले जानकारी दिनुभयो ।