मिना बुढाथोकी सल्यान । जिल्ला मालपोत कार्यालय सल्यानमा अनलाइन सिष्टमबाट सेवा शुरु भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
करिब एकसाता अघिदेखी विभिन्न काम लिएर आएका सेवाग्राहीले सेवा छिटोछरितो प्रदान नहुँदा विभिन्न समस्या भोग्नुपरेको बताएका छन् ।
छत्रेश्वरी गाउँपालिका निवासी पुर्णबहादुर बस्नेत बुबाको अंशबन्डाका लागि साउन १३ गते जिल्ला मालपोत कार्यालय सल्यानमा पुगे । एकसाता हुँदासमेत अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन । समयमै काम सम्पन्न नहुँदा निकै समस्या भोग्नु परेको उनकाे भनाइ छ । सामान्यतया एकदुई दिनमा सम्पन्न हुने काम अनलाइन सिष्टमबाट गर्दा कहिले सम्पन्न हुन्छ कर्मचारीलाई पनि थाहा छैन । कर्मचारीलाई अनलाइन सिष्टमबारे सम्पूर्ण जानकारी नभएकाले काम समयमै सम्पन्न हुन नसकेको उनकाे भनाइ छ ।
त्रिवेणी गाउँपालिका –६ का कमला विकले जग्गा रोक्न मालपोत धाउन थालेको पाँचदिन भयो । ढिलासुस्तीबारे कर्मचारीसँग बुझ्दा उनीहरुले कम्प्युटरलाई दोष दिने गरेको उहाँको भनाइ छ ।
कर्मचारीले कम्प्युटरलाई दोष दिने अनि सेवाग्राहीलाई सास्ती भोग्नु पर्ने भन्दै कुमाख गाउँपालिकाका थलबहादुर शाहीले होटलमा बस्नु पर्दा पैसा सकिएको पीडा सुनाउनुभयो ।
अनलाइन सिष्टम शुरु भएयता प्रभावकारी सेवा दिन नसकेको कर्मचारीले पनि स्वीकार गरेका छन् । छिटो र छरितो सेवा दिने उद्देश्यले अनलाइन सेवा शुरु गरेपनि कार्यालयमा कार्यरत कर्मचारीले पहिलो पटक सबै काम अनलाइन सिष्टममा कम्प्युटरबाट गर्न परेकाले समस्या भएको बताउँछन् ।
अनलाइन सिष्टम शुरु गरेको पहिलो दिनमा तीनवटा काम सम्पन्न भएको र दोस्रो दिनमा दुईवटा काम मात्रै सम्पन्न भएको बुढाथोकीको भनाइ छ । यसअघि हरेकदिन ४० वटासम्म काम सम्पन्न हुने गरेको बताइएको छ । अनलाइन सेवा शुरु भएपनि विषयगत शाखाका कर्मचारी सबैले सिष्टमका बारेमा जानकारी नहुँदा समस्या आएको कर्मचारीको भनाइ छ ।
१२ जनाको दरबन्दी रहेपनि अहिले कार्यालयमा एकजना नायब सुब्बा र दुईजना खरिदार र केही करार कर्मचारी मात्र कार्यरत रहेको निमित्त कार्यालय प्रमुख शोभाकर न्यौपानेले बताए । कार्यालयले कर्मचारीलाई अनलाइन सिष्टमको बारेमा सम्पूर्ण जानकारी नहुँदासम्म जग्गा नामसारी, घर कायम, संशोधन लगायत मुद्दाको कामकाज प्रभावित हुने बताए ।
कर्मचारी अभावमा सेवाग्राहीलाई सहज तथा छिटोछरितो सेवा दिन नसकिने जनाएको छ ।