काठमाडौं । नेपाली कांग्रेस, मुलुकमा ७० वर्ष राजनीतिमा हाबी भएको पार्टी । त्यतिमात्रै होइन, २००७ सालको परिवर्तनसँगै २०७२ मा नेपाली जनताको संविधान बनाउने काममा पनि अगुवाइ गरेको एक मात्र प्रजातान्त्रिक भनेर दाबी गर्ने पार्टी हाे।
२०७४ को निर्वाचनअघिसम्म सरकारमा रहिरहेको थियाे। मन नपरे ९ महिनामै अरुका सरकार ढालेर आफ्नो सरकार बनाउन सक्ने पार्टी । अरु त अरु १२ वर्ष युद्ध लडेको नेकपा माओवादीलाई समेत शान्ति प्रक्रियामा ल्याएको दाबी गर्ने पार्टी । फुटको संघारमा पुग्दा पनि कम्युनिष्ट पार्टीहरुलाई बहुमतमा पुग्न नदिने अठाेट लिएकाे यही पार्टी २०७४ को निर्वाचनपछि कमजोर देखिएको छ ।
मतका हिसाबले दुई तिहाईको कम्युनिष्ट पार्टीभन्दा खासै फरक छैन । तर स्थानीय सरकारमा बाहेक नेपाली कांग्रेसको बाँकी ८ वटा सरकारमा उपस्थिति छैन । प्रदेश सरकार र केन्द्र सरकारमा जाने ढोका ५ वर्षका लागि लगभग बन्द जस्तै छ, किनभने मुलुकमा पहिलोपटक दुई तिहाइको स्थिर सरकारको अभ्यास भइरहेको छ । यस्तोबेला आउँदा फागुनमा १४ औँ महाधिवेशन गर्नु पर्ने प्रमुख दायित्व हो नेपाली कांग्रेसको । संगठन विस्तारमा कम सक्रियता देखिएका कारण महाधिवेशन पनि समयमा नहुने पो हो कि ? केन्द्रीय समिति बैठकहरु यसैमा केन्द्रित छन् ।
नेपाली कांग्रेसको २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौमा १३ औँ महाधिवेशन भएको थियो । १३ औँ महाधिवेशनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सभापति बनाएको हो । कांग्रेसमा केन्द्रीय नेतृत्वको पदावधि ४ वर्षका लागि तोकिएको छ । आउँदो फागुनमा नेतृत्वको म्याद सकिँदैछ नेतृत्वको पदावधि घर्किँदै गएपछि कांग्रेसमा महाधिवेशनको दबाब परेको छ । नेता तथा कार्यकर्ताले पार्टीलाई गतिशील बनाउन छिटो महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिँदै आएका छन् ।
नेपाली कांग्रेसको विधानको दफा ४३ मा ‘असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले त्यसको कारण खोली बढीमा एक वर्षसम्म अवधि बढाउन सक्नेछ’ भन्ने उल्लेख छ । संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थामा पनि ५ वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान छ । विशेष कारण परे ६ महिना बढाउन सकिने व्यवस्था संविधानमा उल्लेख छ ।
सभापति देउवाले पार्टीको विधानमै टेकेर आफ्नो कार्यकाल डेढ वर्ष लम्ब्याउन चाहनु हुन्छ । तर वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डाक्टर शशांक कोइराला लगायतका नेताहरु भने कार्यकाल लब्याउने पक्षमा छैनन् ।नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा नेताहरुले पार्टी खुम्चिनुका कारण खोतलिरहेका छन् । निर्वाचनकै विषयलाई लिएर नेतृत्वमाथि दोषारोपण गरिरहेका छन् । बैठकमा १४ महाधिवेशन प्रकृया तयारीसँगै पार्टी कमजोर बन्नुका कारणबारे पनि समीक्षा भइरहेको छ । । नेतृत्वले आफ्नो बचाउ गरिरहेको छ ।
महाधिवेशनमा पुग्न ८ तहको अधिवेशन पार गर्नूपर्छ । अहिलेसम्म प्रदेश समितिमा समेत जान नसकेको नेपाली कांग्रेसले संसदमा आफ्नो उपस्थिति मात्र जनाइरहेको छ । कम्युनिष्ट पार्टीजस्तो संगठन गर्ने पार्टी होइन कांग्रेस । तर पार्टी मजबुत बनाउन, दुई तिहाइको कम्युनिष्ट सरकारविरुद्ध स्पर्धामा आउन कांग्रेसलाई अहिलेको गतिविधिले मात्रै पुग्दैन । ७० वर्षको इतिहास देखाएर मात्र पनि पुग्दैन । जनमत समानुपातिकमा बराबर आए पनि सत्तामा पहुँच नहुँदा कस्तो हुन्छ ? प्रदेश सरकार र संघीय सरकारमा यो २० महिनाको छेउछाउमा कांग्रेसले यति अनुभूत गरेको छ कि, त्यति अनुभूत २०४८ देखि २०७४ सम्ममा कम्युनिष्ट पार्टीहरुले धैर्यसूचीमा रहेर गरे । नेपाली कांग्रेसको महाधिवेशन समयमा हुनसक्छ, नेतृत्वले चाहे । नत्र रोकिने छ । विधानमा टेकेर रोक्न सकिन्छ । तर कार्यकर्तालाई चित्तबुझ्दो कारण दिने जिम्मा पनि नेपाली कांग्रेसकै हो । महाधिवेशन मात्रै होइन, ७० वर्षको त्यो इतिहास फेरि कायम गर्ने कि नगर्ने ? नेतृत्वले बुझेकै हुनुपर्छ ।
https://www.youtube.com/watch?v=fRWr9Wo5SyY