शम्भु दाहालझापा । कुनै समय रोजगारीका लागि गाउँमा काम खोज्दै हिड्ने नरबहादुर गजमेर केरा गोड्न व्यस्त देखिन्छन् । जीवन निर्वाहाका लागि रोपेको कोदो मकैले वर्षमा ३ महिना पनि धन्न छोडेपछि गजमेरको रोजाइमा केरा परेको हो । उनले ३ बिगाहमा केराखेती गर्दै आउनुभएको बताउनुभयो । गजमेर जस्तै इलामको रोङ–२, का अधिकांश कृषकको मुख्य आयस्रोतको रुपमा केराखेती रहेने गरेको छ ।
कुनै समय के खाउँ र के लाउँ भन्ने पिरमा बाँच्ने रोङ–२ बरफल्याङ्गका बासिन्दा अहिले केरा र सुपारी स्याहार्न व्यस्त देखिन्छन् । २०४५ सालतिर चाडपर्वमा खानका लागि रोपिएका केरा अहिले उनीहरुको गर्जो टार्ने गतिलो स्रोत बनेको छ ।
केही वर्ष अघिसम्म सिँचाइँ अभावमा जमीन बाँझँ राख्ने इलामको रोङ–२ का स्थानीयको बारी अहिले कतै खालि छैनन् । स्थानीय कृषक टंक अधिकारीले भन्छन्, ‘२०४५ सालतिर बारीको डिलमा रोप्ने गरेका थियौं, राम्रो हुन थालपछि बारीभित्र पनि सुपारी र केरा रोप्न थाल्यौं ।'
बजारको राम्रो सम्भावना हुन थालेपछि स्थानीयले केराखेती व्यवसायीक रुपमै गर्न थालेका छन् । रोङ–२ वडा अध्यक्ष टेकबहादर तामाङका अनुसार बरफ्ल्याङ, दूधे, बगैँचा, धनसार क्षेत्रका बासिन्दाले व्यवसायीक रुपमा केराखेती गरिरहेका छन् । कृषकले स्थानीय जातका लाल, भण्डारी, घिउँकेरा र उन्नत जातको सिंगापुरीया केरा लगाएका छन् । केरासँगै सुपारी खेती समेत गर्न सकिने भएपछि सबै बारीमा केरा र सुपारी रोपेको कृषक रामचन्द्र दाहालको भनाइ छ ।
व्यापारीहरु घरघरमा आउने भएकाले बजारको समस्या नभएको कृषक मनोज दाहाल बताउँछन् । व्यापारीले प्रतिघरी एक सय रुपैयाँदेखि ३ सय ५० सम्म दिने गरेका छन् । कृषक नथुनी दास चौधरीभन्छन्, ‘लगभग ३ बिगाहामा केरा र सुपारी लगाएको छु, घर चलाउन मज्जाले पुगेको छ ।’ केरामा गबारो र बर्खाको समयमा छिर्का बस्ने समस्या देखिने कृषक कर्ण खड्काको भनाइ छ ।
प्रशस्त मात्रामा केराको खेती रहेको यस क्षेत्रमा यसअघि केराको फल र पातको घाँसको रुपमा मात्र प्रयोग गरिने गरेको भए पनि अहिले केराको पात, जरा, गाना, फल, बुङ्गो र कोसाको भेट्नोबाट पचास भन्दा बढी परिकार बनाउनका लागि तालिम सञ्चालन गरेको वडा अध्यक्ष तामाङको भनाइ छ ।
![](https://45.77.241.73/wp-content/uploads/2019/08/keta-kheti-2.jpg)
केराबाट तरकारी, अचार, समोसा मःम, चिप्स, निम्की, पकौडा, चप, मिटबल, जुस, वाइन, ब्राण्डी, रोटी लगायत चार दर्जन परिकार बनाउन सकिने स्थानय कृषक बताउँछन् ।
विशेष गरेर केराको पकेट क्षेत्र रहेको रोङ गाउँपालिका–२ मा जिल्लामै सबैभन्दा बढी केरा उत्पादन हुन्छ । यहाँ ३ सय भन्दा बढी कृषकले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । उनीहरुले न्यूनतम् ३ रोपनी देखि ३ बिगाहा क्षेत्रमा केरा लगाएका छन् । किसानले सुपारी र केराबाट प्रतिकठ्ठा वार्षिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । स्थानीयले केराका विभिन्न परिकार उत्पादन गरी स्थानीय क्षेत्रबाट बिक्री समेत गर्न थालेका छन् ।
स्थानीयले उत्पादन गरेको केरा झापाको शनिश्चरे, बिर्तामोड हुँदै राजधानी काठमाडौसम्म पुग्ने गरेको छ ।