काठमाडौं । २०३३ साल यता २ हजार ५ सय ८३ बालबालिका धर्मपुत्र धर्मपुत्रीका रुपमा विदेश पठाइए । मुलुकी देवानी संहिताअनुसार स्वदेशकै नागरिकले स्वदेशी बालबालिका धर्मपुत्र धर्मपुत्री लिँदा दिँदा जिल्ला अदालतमा निवेदन हालेर न्यायिक निकायले छानबिन गरेर मञ्जुरी दिए मात्र लिन दिन पाउने व्यवस्था छ । तर विदेशी नागरिकले धर्मपुत्र धर्मपुत्री लिन दिन चाहे सरकारले गठन गरेको एउटा बोर्डले मञ्जुरी दिए पुग्छ । कानुनमा यस्तै व्यवस्था छ ।
स्वदेशी नागरिकले स्वदेशी बालबालिका धर्मपुत्र लिन कठिन छ । कानुनी प्रकृया निकै कठोर छ । तर विदेशीको लागि प्रकृया यस्तो सरल बनाइएको छ कि, यसको भित्री खेल हो, डलर आम्दानी । कसका छोराछोरी कुन संकेतमा विदेश पठाइयो, सबै हिसाबकिताब गोप्य तर १८ हजार डलर हाताहाती आम्दानी । मुलुकी देवानी संहिता २०७२ को परिच्छेद ८ मा धर्मपुत्र धर्मपुत्री सम्बन्धी व्यवस्था छ । मुलुकी देवानी संहिताकै परिच्छेद ९ मा अन्तरदेशीय धर्मपुत्र धर्मपुत्री सम्बन्धी व्यवस्था छ । यही व्यवस्थामा टेकेर धर्मपुत्र धर्मपुत्रीका नाममा गरिबका छोराछोरी पठाइएको छ ।
२०३३ सालबाट शुरु भएको बालबालिकालाई विदेश पठाउने धन्दा चलिरहेको छ । तर धर्मपुत्र धर्मपुत्रीका रुपमा विदेश पठाइएका बालबालिकाको नाम, बाबुआमाको नाम थर र वतनको पत्तो पाउन सकिन्न । कुन उमेरका बालबालिका कुन मितिमा कुन देशका कसले धर्मपुत्र धर्मपुत्री बनाएर लगेका हुन्, जानकारी हासिल गर्न मिल्दैन । सरकारी निकायले सबै दस्तावेज गोप्य राखेको छ ।
नेपाली राज्यव्यवस्था वा कानुन निर्मात्री अंग विधायिकीले मुलुकी देवानी संहितामा अन्तरदेशीय धर्मपुत्र धर्मपुत्री पठाउन मिल्ने कानुन नै किन बनायो ? यसको औचित्य कहिँ कतैबाट पुष्टि हुन सकेको छैन । नेपाली अनाथ बालबालिका सरकारले पाल्न नसकेर हो वा विदेशीलाई बालबालिका दिँदा बालबालिकाको सर्वोत्तम हित हुन्छ भनेर हो ?
आमाबुबा नभए पनि जन्मेको माटो र मातृभाषा बोल्ने मातृभूमिमा रम्ने बालबालिकाको स्वाभाविक र जन्मसिद्ध अधिकार हो । तर सरकारले विदेशीलाई जिम्मा लगाउने नियत के हो ? पश्चिमाले सन्तानलाई अंश नै दिँदैन, चाइल्ड एडप्सन भनेको गरिबका सन्तानलाई सामान्य सहयोग हो ।
हाम्रो देशमा धर्मपुत्र धर्मपुत्रीको परिभाषा नै फरक छ । तर, धर्मपुत्र धर्मपुत्रीका नाममा सन्तान बेचबिखनलाई सरकारले नै संस्थागत गरिनु मानव सभ्यताकै कलंक बनेको छ । हेग सन्धी अनुमोदन नभएको अवस्थामा निर्देशिका बनाएर घुमाउरो ढंगले बालबालिका बेचबिखन भइरहेको छ ।
https://youtu.be/pWhJqqx0En8