प्रकाश न्यौपानेभैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताउनु भएको छ । मन्त्री भट्टराईले बिहीबार विमानस्थल निरीक्षण गर्दै र निर्माण छिटो सक्न ठेकेदारलाई निर्देशन दिनुभयो ।
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल भ्रमण वर्ष २०२० सँग जोडिएको छ’ उहाँले भन्नुभयो, ‘विश्वका लाखौं बौद्धमार्गी, लुम्बिनी र नेपाल भ्रमण वर्ष–२०२० सँग यो विमानस्थलले ठूलो महत्व राख्छ, हामीले पर्यटक भित्र्याउन जसरी पनि तोकिएको समयमा विमानस्थल निर्माण सक्नैपर्छ ।’
मन्त्री भट्टराईले निर्माणमा उत्पन्न समया समाधानको लागि आफूले समन्वय गर्ने बताउनु भयो । ‘निर्माणमा भुक्तानीको समस्या हुन्न’उहाँले भन्नुभयो, ‘ठेकेदारकै कारणले आयोजना निर्माणको काम एकदिन पनि पछि धकेलिन हुन्न । ’
मन्त्री भट्टराईले विमानस्थल निर्माणमा प्रधानमन्त्रीले समेत बढी चासो लिइरहनु भएको उल्लेख गर्नुभयो । ‘प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय फोरमहरुमा पुगेर पनि डिसेम्बरबाट विमानस्थल संचालनमा ल्याउँछौं भनेर धेरैपटक भन्नुभएको छ, थुप्रै बौद्धमार्गीलाई लुम्बिनी आउन निमन्त्रणा गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘सायद प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको परीक्षा यही विमानस्थललाई जोडेर लिनुहुनेछ ।’
प्रधानमन्त्रीले गौतमबुद्ध विमानस्थलको सेकेन्ड–सेकेन्डमा प्रधानमन्त्री कार्यालयमा जोडिएको सीसी क्यामेराबाट निरीक्षण गरिरहेको उहाँको भनाई छ ।मन्त्री भट्टराईले केन्द्र, प्रदेश र स्थानीय सरकारले साझा धारणा गराई विमानस्थल निर्माणमा आउन सक्ने अवरोधलाई अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘कुनै तहका सरकारी निकायबाट आयोजनालाई अवरोध हुने काम भए मलाई सैह्य हुँदैन’, उहाँले भन्नुभयो, ‘गौतमबुद्ध र पोखरा क्षेत्रीय विमानस्थल तोकिएको समयमा सकेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि शुरु हुन्छ ।’
आयोजनासँग समन्वय गरी स्थानीय तहलाई निर्माण सामाग्री उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो । आयोजनामा आएका बाधा, समन्वय गर्नु पर्ने काम, कुनकुन निकायले के काम गरे आयोजना समयमै सकिन्छ भन्ने बारे भोलिसम्म आफूलाई रिपोर्ट पेस गर्न आयोजना प्रमुखलाई निर्देशन दिनुभयो । विकास साझोदारहरुसँग मिलेर काम गर्ने जनाउँदै मन्त्री भट्टराईले मुलुकमा थुप्रै ठूला आयोजनामा जटिलता भएको उल्लेख गर्नुभयो । उहाँले एडीबीमा नेपाल प्रमुखसँग आफूले भेट गरेर आयोजनालाई रकम अभाव हुन नदिन र डिसेम्बरभित्रै भुक्तानी दिन आग्रह गरेको बताउनुभयो ।
मन्त्री भट्टराईले सरकारले थुप्रै विमानस्थल बनाउने बताउँदै गौतमबुद्ध विमानस्थललाई अझै कमर्शियल बनाउने भन्दै अन्तर्राष्ट्रिय विजनेस हाउसलाई संचालन दिने तयारी गरिएको बताउनुभयो । ‘हामीले विमानस्थल संचालन गर्न नसक्ने होइन तर बढी व्यवसायिक बनाउन बाहिरी मुलुकलाई संचलक गर्न दिन लागेका हौं’, उहाँले भन्नुभयो, ‘तर हामीले हाम्रो मुलुकको आँच नआउने गरी संचालन गर्न भने दिँदैनौं । विमानस्थललाई आवश्यक पर्ने कुनै कुरा अभाव हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
प्रतिनिधिसभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य घनश्याम भुसालले बजेट निकासामा ढिलाई नगर्न आग्रह गर्नुभयो । ‘विगतमा मन्त्रालयबाट पैसा निकासा भएको एकडेढ महिनासम्म पनि आयोजनामा पैसा नआउने समस्या थियो, अब त्यसो हुनुहुँदैन’, उहाँले भन्नुभयो ।
नेता भुसालले शुरू स्थानीय ठेकेदार र मुख्य ठेकेदारमा लेनदेनको विवाद भएको स्मरण गर्दै स्थानीय ठेकेदारले अझै ३०–३२ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएकाले त्यसको वास्तविकता निक्यौल गरी निराकरण गर्न मन्त्रीलाई आग्रह गर्नुभयो । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले आयोजनामा समस्या भएको बताउँदै त्यसलाई समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले आयोजनाले प्रदेश सरकारसँग खासै समन्वय नगरेको बताउनुभयो ।
आयोजना प्रमुख ई.प्रवेश अधिकारीले निर्माण सामाग्रीको जटिल समस्या भएको बताउनुभयो । उहाँले रुपन्देहीमा निर्माण सामाग्री नपाउँदा दाङ र चितवनबाट ल्याउन बाध्य भएको बताउनुभयो । उहाँकाअनुसार अहिलेसम्म आयोजनाको काम ७४ प्रतिशत सम्पन्न भएको छ । मन्त्री भट्टराईसँगको छलफलमा ठेकेदारका प्रतिनिधिले निर्माण सामाग्रीको सहजता गरिदिन आग्रह गरेका थिए । साथै आफूमा केही आर्थिक समस्या समेत परेको ठेकेदार पक्षको भनाई छ ।