सुखिलाल चौधरीउदयपुर । उदयपुर सिमेन्ट उद्योगको क्लिंकर उत्पादन बुधबारबाट शुरु भएको छ । विद्युत् भोल्टेज गडबडी हुँदा २ महिना अघि क्लिंकर पोल्ने प्रारम्भिक मेशिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर जलेर क्लिंकर उत्पादन बन्द भएको थियो ।
क्षतिग्रस्त मोटर उद्योगमा जडान गरिएका ठूला मोटरमध्ये यो एक हो । मर्मतसम्भार गर्न सक्ने जनशक्ति मेशिन उद्योगमा नरहेको हुँदा मर्मतका लागि उच्च प्रविधि भएको बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशप लैजानु परेको थियो । उद्योगको हाइटेन्सन मोटर मर्मत गरेर ल्याएपछि क्लिंकर उत्पादन शुरु भएको हो ।
विद्युतको भोल्टेजले ५ सय किलोवाट क्षमताको हाइटेन्सन मोटरमा क्षति पुगेपछि मर्मतका लागि सामान नपाउँदा मर्मतका लागि दुई महिना लाग्यो र क्लिंकर उत्पादन मात्रै बन्द भएको हो । सिमेन्ट प्याकिङ्ग बन्द भएको होइन् । सिमेन्टको आपूर्ति साउन १३ गतेसम्म भएको निमित्त महाप्रबन्धक नवल किशोर साहले बताए ।
तीन दशक पुरानो उद्योगका पाटपुर्जा मर्मत गर्नुपर्ने भएका छन् । बिग्रेका मेशिनको तत्काल मर्मत गर्न सरकारी प्रक्रिया झन्झटिलो रहेको छ । त्यसको मार उद्योगले खेपिरहेको छ, पुराना पाटपुर्जा मर्मत समयमै नहुँदा बेला बेलामा उद्योग बन्द हुने गरेको हो । ‘यो उद्योग पुरानो हो, धेरै पाटपुर्जा मर्मत गर्नुपर्ने बेला भएको छ, सरकारी प्रक्रिया झन्झटिलो छ’, निमित्त महाप्रबन्धक साहले भने, ‘तत्काल मर्मत गर्नुपरे पनि सरकारी प्रक्रिया पुरा गर्न समय लाग्ने भएकाले उद्योग आंशिक बन्द भएको हो ।’ आगामी दिनमा बिजुलीबाहेक उद्योग सञ्चालनका लागि अन्य समस्या नभएको निमित्त महाप्रबन्धकको दाबी छ ।
आर्थिक वर्ष २०७५/०७६ मा २२ लाख ६२ हजार १ सय ४२ बोरा सिमेन्ट उत्पादन भएको बिक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए । उनले भने, ‘गत पुस, माघ, फागुन, चैत्रमा सोचे जस्तो सिमेन्ट बिक्री नभएपछि परिणाम घटेको हो, जुन समय सिमेन्ट बिक्रीको पिक आवर हो ।’ आर्थिक वर्ष २०७४/०७५ मा २४ लाख ६ हजार नौं सय ७४ बोरा सिमेन्ट बिक्री भएको जनाइएको छ ।
विद्युत अभाव तथा कटौतीका कारण दैनिक ६ सयदेखि ६ सय ५० मेट्रिक टनमात्र सिमेन्ट उत्पादन गर्दै आएको जनाइएको छ ।
गतवर्ष पुराना पार्टपूर्जाको मर्मत गरिएपछि उत्पादन बढेर ७ सय ५० देखि आठ सय मेट्रिक टन उत्पादन भएको जानकारी दिइएको छ ।