भगीरथ भण्डारीइलाम । माइजोगमाई गाउँपालिका–१ नयाँबजारका वलबहादुर खड्काले कृषि विकास बैंकको कारण आफू सुकुम्बासी भएको बताउनुभएको छ ।
विभिन्न समयमा आफूले लिएको ऋण समयमा बुझाउँदा पनि बैंकले आफ्नो सम्पत्ति लिलाम गरेको बताउनुभएको हो ।
विसं. २०५० मा कृषि विकास बैंक शाखा कार्यालय नयाँबजारबाट चियाखेती विस्तारका लागि ८६ हजार रुपैयाँ र २०५७ मा पुनः दुई लाख ३५ हजार रुपैंयाँ ऋण लिएको उहाँको भनाइ छ । आफूले लिएको ऋण रकम ब्याजसहित बैंकमा बुझाए पनि बैंकले हालसम्म कुनै रकम नबुझाएको भन्दै जग्गा लिलाम गरेको बताउनुभयो ।
बैंकले २०६८ सालमा आफूलाई साँवा र ब्याज नबुझाएको भन्दै पत्र पठाएको र आफूले विसं. २०७२ मा पुनः ४ लाख २१ हजार जम्मा गरेपनि बैंकले त्यसको हिसाब नदेखाएको पीडित खड्काले बताउनुभयो । बैंकबाट लिएको ऋण विभिन्न समयमा बुझाएको भौचर आफूले बैंकलाई देखाएपनि बैंकका कर्मचारीले यस विषयमा आफूलाई थाहा नभएको भन्दै पन्छिने गरेको खड्काको भनाइ छ ।
ऋण लिएको २६ वर्षपछि बैंकले २०७४ चैत्र २० मा जग्गा लिलामी गरेको थियो । आफूले तिरेको रकम कुनै हिसाब नगरी शुरुमा लिएको रकमको ब्याज र हर्जना गरी बैंकले १६ लाख २६ हजार ८६ रुपैयाँ तिर्न बाँकी देखाउँदै ताकेता गर्दै आएको थियो ।
बैंकले अहिले ६५ रोपनी जमिन लिलाम गरेपछि आफू सुकुम्बासी भएको उहाँको दुःखेसो छ ।
![](https://45.77.241.73/wp-content/uploads/2019/08/receive.jpg)
विभिन्न समयमा आफूले बुझाएको रकमको भौचर र अन्य प्रमाण पीडित खड्काले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै देखाउनुभएको थियो ।
बैंकले जग्गा लिलामी गरेपछि आफूले बैंक विरुद्ध विसं. २०७५ मा उच्च अदालत विराटनगर इलाम इजलासमा रिट दायर गरेपनि प्रमाण नपुगेको भन्दै अदालतले रिट खारेज गरेको बताउनुभयो ।