हुमाकान्त पोखरेलगुल्मी । प्रदेश ५ सरकारले सत्यवतिका गाउँपालिकाका पहिरो प्रभावितको पुनर्बासको व्यवस्था मिलाउने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी सत्यवति गाउँपालिकाको टोलीले मुख्यमन्त्री शंकर पोखरेललाई बिहीबार ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री पोखरेलले पुनर्बासका लागि प्रदेश सरकारले पूर्ण जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको प्राकृतिक विपद् व्यवस्थापन तथा पुनःस्थापना सहजिकरण उपसमिति संयोजक अमर सिंजापति मगरले बताए ।
उद्धार र राहतको काममा प्रदेश सरकारको तर्फबाट आफ्नो कर्तव्य पुरा गरेकाले पहिरो प्रभावित क्षेत्रको वास्तविक तथ्यांकीय अवस्था बाहिर आएपछि योजनावद्ध रुपमा काम शुरु हुने आश्वासन पाएको सिंजापतिले बताए । पहिरो प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनाको विषयमा प्रदेश सरकार गम्भीर भएकाले एकिकृत वस्ती निर्माणका लागि पनि मुख्यमन्त्री सकरात्मक नै रहेको प्रेस सल्लाहाकार शेरबहादुर केसीले बताए ।
‘विस्थापितको जिम्मा राज्यले नै लिनुपर्छ मन्त्री ज्यूको धारणा पनि एकिकृत बस्ती निर्माण हो ।’ केसीले भने, ‘प्रदेशसँगै केन्द्र र स्थानीय सरकारको पनि सहयोग आवश्यक छ ।’
प्राकृतिक विपद व्यवस्थापन तथा पुनःस्थापना सहजिकरण उपसमिति सत्यवति गाउँपालिकाको टोलीले मुख्यमन्त्रीसहित सामाजिक विकासमन्त्री सुदर्शन बराल मगर, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई छुट्टाछुट्टै नौ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालले स्थानीय सरकारले एकिकृत बस्ती निर्माणका लागि जग्गा पहिचान गर्ने र प्रदेशले पूर्ण विस्थापित परिवारलाई पुनर्बासको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।