भगीरथ भण्डारी इलाम । निर्माण भएको नयाँ बसपार्कको निर्माण गुणस्तरहिन भएपछि सञ्चालनमा आउन सकेको छैन ।
बसपार्कको भवन र त्यहाँ निर्माण भएका संरचना गुणस्तरहिन भएको पाइएपछि त्यसको अनुसन्धान शुरु गरिएको सघन शहरी तथा भवन निर्माण आयोजना झापा, फिल्ड कार्यालय इलामका इन्जिनियर सुदिप झाले जानकारी दिनुभएको छ ।
इलामको सेरामा निमार्ण भएको बसपार्कको संरचनामा गुणस्तर नभएपछि २०७४ सालमा निर्माण शुरु भएको बसपार्कमा बनेकोे भवनको पिलरमा नै समस्या देखिएपछि ठेकेदारबाट भवनकाे जिम्मा लिएको छैन । कार्यालयका अनुसार संरचनाको भेलोसीटी मेथर्ड अन्तर्गत परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि मात्र अन्य प्रकृया अगाडि बढ्ने इन्जिनियरको भनाइ छ । झाका अनुसार प्रारम्भिक परीक्षणका क्रममा नै पिलर निर्माण गर्दा निर्माण व्यवसायीले मापदण्ड पुरा नगरी कमसल सामग्री प्रयोग गरेको पाइएको हो ।
बसपार्कमा बनाइएको कालोपत्रे सडक र सोलार बत्तीसमेत निर्माण सम्पन्न नभई बल्न छोडेको स्थानीयको भनाइ छ ।
इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले प्राविधिक समस्यालाइ ठेकेदार र कार्यालयमा कसको कमजोरी छ, कमजोरी गर्नेले नियमानुसार के गर्नुपर्ने त्यो प्रक्रियामा अघि बढेर समाधान गरी बसपार्क सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ।
पछिल्लो पटक भवन लगायतका संचरना निर्माणका लागि ठेक्का लिएको खनाल कन्स्ट्रक्सन कम्पनीले लिएको थियो । भवन सम्झौता अनुरुपको गुणस्तर नभएको पाइएमा भवन भत्काउनु पर्ने प्राविधिकको भनाइ छ । नयाँ बसपार्क निर्माण भएपपनि हस्तान्तरण हुन सकेको छैन । कार्यालयका अनुसार बिरुवा भगवती जेभीले मेची राजमार्गदेखि बसपार्कसम्म कालोपत्रे कार्य, सर्टिङ र शौचालय निर्माणका लागि २०७३ असार १६ मा सम्झौता भएको थियो । एक करोड आठ लाख १२ हजारमा ठेक्का सम्झौता भएपनि हालसम्म कामको फाइनल हुन सकेको छैन ।
पटकपटक म्याद थपको भएपनि फिनिसिड. नभएकाले फाइनल हुन नसकेको बताइएको छ ।
यस्तै, २०७४ बैशाख १० मा खनाल कन्ट्रक्सनसँग भवनसमेत टिकट काउण्टर, वर्कशप, सटर र शौचालय निर्माणका लागि ३ करोड ४२ लाख दुई हजारमा सम्झौता भएको थियो ।