काठमाडौं । प्वाइन्ट मिडिया प्रालिद्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधि आरजु पोखरेलले जितेकी छन् ।
नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सिएन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् भन्ने प्रश्नको उत्तर दिँदै आरजुले मिस टुरिजम–२०१९ को उपाधी जितेकी हुन् । योसँगै पोखरेलले मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको उपाधि पनि हात पारिन् ।
त्यस्तै मिस टुरिजम–२०१९ फस्र्ट रनर अपमा युसिका तुलाधर र सेकेण्ड रनर अप सविता न्यौपाने छनौट भइन् । तुलाधरले मिस ट्यालेन्ट र न्यौपानेले मिस पर्सनालिटिको उपाधी प्राप्त गरिन् । त्यसैगरी फोटोजेनिकमा अर्पना पोखरेल, फिगरमा लक्ष्मी थिङ, स्माइलमा करिना प्याथा, वाकमा रविना सुवाल, कन्फिडेन्टमा विजया खनाल, पपुलर च्वाइसमा लक्ष्मी श्रेष्ठ र इन्टेलिजेन्टमा शान्ति तिमिल्सिना छनौट भए ।
विजेतालाई प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्ले, नेपाल पर्यटन वोर्डका सञ्चालक दीपक महत र अर्थवाउण्ड एक्सपीडिसन प्रालिका प्रबन्ध निर्देशक राजन सिम्खडाले नगद क्रमशः ५० हजार, ३० हजार, २० हजार प्रदान गरे ।
नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विगत सन् २०१६ देखि प्वाइन्ट मिडियाले मिस टुरिजम २०१९ को आयोजना गर्दै आइरहेको प्वाइन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।
मिस टुरिजमको ग्राण्ड फाइनलको निर्णायकहरुमा नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज (नाट्टा) का अध्यक्ष सिएन पाण्डे, ग्रिकका अवैतनिक वाणिज्यदुत तथा अग्रज पर्यटन व्यवसायी बिक्रम पाण्डे, गाउँ पर्यटन प्रवद्र्धन मञ्च (नेपाल) का पूर्व अध्यक्ष कमल सापकोटा, टानका वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, मिस नेपाल–२००० उषा खड्गी, टानका पूर्व महासचिवहरु सागर पाण्डे र मोहन लम्साल, नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, युवा पर्यटन व्यवसायी राजन सिम्खडा र अञ्जन थापा (कुमार) रहेका थिए ।