सुखिलाल चौधरी
उदयपुर । पूर्व कर्मचारीले आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेको नाममा सुसाइट नोट लेखेर आत्महत्या गरेका छन् ।
मालपोत कार्यालय कलंकींमा रहँदा भ्रष्टचार मुद्दा लागेपछि स्वैच्छिक अवकाश लिएका उदयपुर त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरीप्रसाद आर्चायले सुसाइट नोट लेखेर शनिबार राति आत्महत्या खुलेको छ ।
झापाबाट मालपोत कार्यालय कलंकी हुँदै समायोजनमा त्रियुगा नगरपालिका आएका आर्चायले केही महिना अगाडी स्वैच्छिक अवकाश लिएका थिए ।
मालपोत कार्यालय कलंकी हुँदा आचार्य लगायत सात जनालाई सामुदायिक वनको जग्गा गैरकानूनी रुपमा सुयल हाउजिङ कम्पनीका नाममा श्रेस्ता खडा गरी पुर्जासमेत उपलब्ध गराइएको आरोप लागेको थियो ।
यस्तो लेखेको छ, सुसाइट नोट
‘सतिले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन, तर म देशको ठूलो भ्रष्टचारी भए, अख्तियार प्रमुख आयुक्त नविनकुमार घिमिरेको आयु २ सय वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाडौँमा सहयोग गर्नु ।
आफ्नो नाममा पुराण लगाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले काम गर्दा भएको गल्ती हो, स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिए । ‘ममिले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममिलाई राम्रो गर्नु । म बिदा भए । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाईले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु ।
कान्छो छोराको व्याचलर सकुला भनेको थिए सकिन, पापी भए । वााणिज्य, नेपाल, एनसिसी एनआईसी बैंकमा के कति पैसा छ, चेक दराज भित्र सानो व्यागमा छ, अन्यमा पैसा भए पनि कमै छ । त्यसअघि उनले लेखेका छन, ‘बिरेन्द्र काका लगायत छिमेकीले भैसी, खसी तह लगाई दिनु । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नु ।सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाडौँ बस्नु, गोमाले रंंगिन लुगा लगाउनु, १३ औँ दिनमा सबै फुकाउनु । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरि दिन समेत नाेटमा लेखेका छन् । २५ गते बेलुका ६ बजे सुसाइट नोट लेखि घरबाट बाहिरिएका आचार्यले अन्तमा आफन्तले भैंसी, खसी जतिमा हुन्छ त्यतिमा बिक्री गरी सहयोग गरि दिनसमेतआग्रह गर्दछु भनेका छन्।
अख्तियार प्रमुखलाई जोड्नुको कारण यस्तो
अख्तियार दुरूपयोग अनुसन्धान अयोगले सामूदायिक वनको जंगल नक्कली व्यक्ति हुँदै हाउजिङ्ग कम्पनीको नाममा ९२ रोपनी जग्गा नामसारी गर्ने कार्यमा संलग्न कलंकी मालपोतका दुई कर्मचारीसहित सात जनाविरूद्ध विशेष अदालतमा गत जेष्ठ १३ गते मुद्दा दर्ता गरेको थियो । अख्तियारले उनीहरु विरुद्ध २ करोड २१ लाख १० हजार मूल्य बराबरको जग्गा मिलेमत्तोमा नक्कली जग्गाधनी कायम गरी हाउजिङ्ग कम्पनीलाई नामसारी गरिदिएको आरोप छ ।
अख्तियारले कलंकीका मालपोत अधिकृत शिवप्रसाद रिमाल र नायव सुब्बा हरीप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङ्ग कम्पनीका सञ्चालक रामकुमार, सुयल थापा नक्कली जग्गाधनी मिनाकुमारी थापाको वारेस दिपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरूद्ध विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको हो ।
वर्षौ पहिलेदेखि सुयल हाउजिङ्ग कम्पनीका संचालकले जग्गाको नामसारीको विषयमा लपन छपन गर्दै आएको अन्तिम समयमा सहि गर्ने बेलामा आचार्य परेको उनका एक सहकर्मीले बताए । एक पैसा लिनु न एक पैसा दिनु विचौलीयाको चङगुलमा परेर अख्तियारको फन्दामा परेको उनकाे भनाइ छ । त्यसपछि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्नु अगाडी नै सोही जग्गाको नामसारी दर्ता खारेज गरि सकेको थियो ।
आरोप पत्रको पूर्ण पाठ
![](https://45.77.241.73/wp-content/uploads/2019/08/not-2.jpg)
![](https://45.77.241.73/wp-content/uploads/2019/08/malpot.jpg)