विमल खड्का काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङको कुइनेबाटो अनरेका एक दम्पतीको हत्या भएको छ । आफ्नै घरमा रहेका ६८ वर्षीय ‘रेडियो भनिने’ भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बीमा कामीको शनिबार मध्यराति हत्या भएको हो ।
दम्पतीको धारिलो हतियार (बन्चरो) प्रहार गरी हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।
भानबहादुरको हत्या गरि मकैबारीमा र भानबहादुरकी कान्छी श्रीमतीको हत्या घरभित्रै भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दम्पतिकाे शव १० मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताउनुभयो ।
कसरी भयो दम्पतीको हत्या ?शनिबार साँझदेखि पानी परिरहेको थियो । थोरै बस्ती रहेको ठाउँमा भानबहादुर कान्छी श्रीमतीसँगै थिए । भानबहादुरका छोराबुहारी र जेठी श्रीमती नगरपालिकाकै–९ नवीगाउँमा गाइबस्तुसँगै आलुको सिजन भएकाले त्यहाँ बस्दै आएका थिए । दुई घर भएका भानबहादुर खाना खाएर उपल्लो घर र कान्छी श्रीमती तल्लोघरमा बस्दै आएका थिए ।
दाजुभाइ र उनकोसहित ५ घर रहेको बस्तीमा रातको १२ बजे दाजु भाउजू चिच्याएको सुनेका उनका भाइ मसाने विकलाई उदृत गर्दै वडाध्यक्ष नन्दे सुनारले जनता समाचारलाई जानकारी दिनुभयो ।
वडाध्यक्ष सुनारले भने,- ‘हामीले उनका भाइलाई सोध्यौँ, भाइले राति दाजुभाउजू कराएको भएपनि पानी परिरहेकाले त्यहाँ नगएको बताए । जंगल नजिक बस्ती रहेकाले बाघ आएको हुनाले कराएको हुनसक्ने भन्दै घरबाहिर ननिस्केको उनका भाइकाे भनाइ छ ।
बिहान दाजुभाउजुको शव देखेपछि भाइले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार भानबहादुरकी कान्छी श्रीमती तल्लो घर र श्रीमान उपल्लो घरमा बसेका थिए । भानबहादुरको हत्या गरि मकैबारीमा र भानबहादुरकी कान्छी श्रीमतीको हत्या घरभित्रै भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दम्पतिकाे शव १० मिटरको दुरीमा रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख ऋणबहादुर बैदवारले बताउनुभयो ।
मृतकदम्पतिको शरीरका विभिन्न भागमा रहेका चोट हेर्दा स्थानीय हतियार बञ्चरो प्रयोग भएको हुनसक्ने प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिनुभयो । गाउँमा लगाएको मकै हेर्नका लागि दम्पती त्यहाँ बस्दै आएका थिए । घटनाको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक नरेन्द्र कार्कीको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली खटाएको छ ।