अनिल तिवारी
बारा । काठमाडौंमा मात्र हुने गाईजात्रा पर्व यसवर्ष प्रदेश नम्बर २ को सिमरामा पनि हुने भएको छ । स्थानीय स्तरमा संयोजन गरिरहेको होटल तथा पर्यटन व्यवसायी संघ र सिमरा फाउण्डेश, बाराले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै भदौ १ गते बाराको सिमरामा गाईजात्रा प्रदर्शन हुने जानकारी गराएको हो ।
पछिलो समय पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको जीतपुरसिमरा उपमहानगरको सिमरामा यस कार्यक्रमको आयोजना गर्न लागिएको हुँदा आफूहरु उत्साहित रहेको भन्दै होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पर्यटकीय र औद्योगिक नगरीमा यो कार्यक्रमको निकै महत्व रहेको जानकारी दिनुभयो ।
गाईजात्रा कार्यक्रममा कलाकार मनोज गजुरेल सहित शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुलाको साग), शिवशंकर रिजाल (जोगिन्दर पानवाला), रवी डंगोल, यमन श्रेष्ठ, सुवोध गौतम, पूर्ण थापा, सन्ध्या बुढा (काउली बुढी) सुमन कार्की र रुविना अधिकारी आउने आयोजक होटल व्यवसायी संघका अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।
मुलुकको संघीय संरचना अनुसार सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रमको तयारी शुरु भएँंगै हास्य कलाकार गजुरेलको नेतृत्वमा ११ जना कलाकारले सातवटै प्रदेशमा गाईजात्रा विशेष कार्यक्रम गर्ने भएका हुन् ।
सिमराको रोयल इभेन्ट मेनेजमेन्ट भेन्युमा आयोजना गर्न लागिएको कार्यक्रममा होटल व्यवसायी संघ र फाउण्डेशनले एक हजार पाँच सय र एक हजार गरी दुई किसिमका टिकट दर तय गरेको सिमरा फाउण्डेशनका अध्यक्ष महमद आरिफ हुसेनले जानकारी दिनुभएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउन उक्त रकम खर्चिने र बचत रकम सामाजिक काममा खर्च गरिने हुसेनले बताउनुभयो ।
गाईजात्रा कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतासहित पाँच सय जनालाई सहभागी गराउने तयारी गरिएको आयोजकले जानकारी दिएको छ ।