धनु भुसाल नवलपुर । नारायण पंगेनी, पत्रकारितामा परिचित व्यक्ति । तर अहिले उहाँ पत्रकारिता छोडेर पशुपालनमा लाग्नु भएको छ । डेढ दशक पत्रकारिता क्षेत्रमा बिताउनु भएका पंगेनी केही महिनाअघिबाट पशु पालनमा लाग्नु भएको हो ।
व्यावसायिक पशुपालनमा युवालाई आकर्षण गर्नसके कृषि क्षेत्रमा प्रशस्तै सम्भावना छन् । यसैका उदाहरण बन्नु भएको छ, कावासोती नगरपालिका १४ अग्यौलीका पंगेनी । कुनैबेला समाचारमा रम्नु हुने पंगेनी अहिले भैंसीसँग रमाउनु भएको छ । ‘पहिला समाचार सम्पादन गर्थेँ, अहिले गोठ सम्पादनमा लागेको छु’ पत्रकार पंगेनीले भन्नुभयो ।
काठमाडौमा सक्रिय पत्रकारिता गरिरहनु भएका पंगेनी संघीय तथा प्रदेशसभा निर्वाचनसँगै गृह स्थान फर्कनु भएको हो । निर्वाचनमा उहाँ नवलपुर क्षेत्र २ मा वैद्य माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार समेत बन्नु भएको थियो । निर्वाचनमा असफल भएपछि पशुपालनमा लाग्नु भएको हो ।
पारिवारिक सहयोग र हौसलाले पंगेनीलाई भैँसीको स्याहारमा जागरुक बनाएको छ । भैंसी पालनमा उहाँलाई जीवन संगिनी संगीताले साथ दिनुभएको छ । पंगेनीले भैसी पालनसँगै कावासोतीमा संयुक्त रुपमा दूग्ध डेरी समेत सञ्चालन गर्नुभएको छ । ‘पत्रकारिताबाट घर चलाउन मुश्किल पथ्र्यो’ उहाँले सुनाउनु भयो, ‘अहिले यो व्यवसायमा लागेपछि भने सजिलो भएको छ ।’
किसानका समस्यालाई मिडियाले उठाउन नसकेको पंगेनीको बुझाई छ । नेपालको कुल ग्राहस्थ उत्पादनमा २९ प्रतिशत स्थान ओगटेको कृषिलाई व्यावसायिक र आधुनिकीकरण गर्न सकेमा यसमा क्रान्ति हुने पंगेनीको भनाइ छ ।
https://youtu.be/4845e6qz-iY