विपुल अधिकारी पाँचथर । जिल्लामा दुई साता यता डेंगुका बिरामी भेटिन थालेका छन् । १२ जना डेंगुका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
फिदिम नगरपालिका वडा नम्बर १ का रोशन श्रेष्ठ, कल्पना भण्डारी, श्रीष्मा आङ्देम्बे र सोफिया थापामा डेंगु देखिएको छ् । वडा नम्बर ११ मा कमल न्यौंपाने डेंगु भएको पाइएको छ । वडा नम्बर १२ मा रामकुमार राईमा डेंगु भेटिएको छ । फालेलुङ गाउँपालिका २ का लोकीमाया बाँनिया, लियन थोक्लिहाङ र देउमाया खत्रीलाई डेंगुले सताएको छ ।
मोरङका पुरुषोत्तम पौडेल र काठमाडौंका पुरुषोत्तम आचार्य (हाल पाँचथरमा कार्यरत)लाई डेंगुको संक्रमण भेटिएको कार्यालयका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले जानकारी दिनुभयो । ‘जिल्ला अस्पतालमा डेंगु परिक्षण गर्ने किड नहुँदा फिदिम स्थित समर्पित अस्पतालमा परिक्षण गर्दा डेंगु भेटिएको छ’ उहाँले भन्नुभयो, ‘जिल्लामा डेंगु फेला पर्न थालेपछि जिल्ला अस्पतालमा पनि ३० थान किड झिकाईएको छ । अब जिल्ला अस्पतालमानै परीक्षण हुन्छ ।’
डेंगु देखिएका केहिलाई उपचारको लागि जिल्ला बाहिर पठाइएको तुम्बापोको भनाई छ । ‘कहाँ–कहाँबाट आएका हुन या कहि कतै नगई संक्रमण शुरु भएको भन्ने बिषयमा अध्ययन भइरहेको छ ’ उहाँले भन्नुभयो । तराईका जिल्लामा व्यापक भएको यो संक्रमण जिल्लामा भेटिएपछि स्वास्थ्य कार्यालयले तथ्याङ्क संकलन गर्न थालेको हो ।
एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सात दिन सम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरिर कटकटी दुख्नु लगायत डेंगुका लक्षण भएको तुम्बापोले बताउनु भयो । यस्तो समस्या देखा परे चाडो अस्पाताल गएर उपचार गराउन उहाँले आग्रह गर्नुभयो ।
तुम्बापोले भन्नुभयो– ‘आम नागरिकमा डेंगु संक्रमणका बारेमा गलत धारणा रहेको छ । यो रोग भयङकर डरलाग्दो हो भन्ने भ्रमका कारण समस्या भइरहेको छ । यो सामान्य संक्रमण हो । अतिनुपर्ने कुनै कारण छैन् ।’