भगीरथ भण्डारी इलाम । स्थानीय स्तरमा भेनियर उद्योग र दक्ष जनशक्तिको अभावका कारण काठकाे कच्चा पदार्थ गोलिया तराईका जिल्लामा निकासी हुने क्रम बढेको छ । निकासी बढेपनि किसानले काठको उचित मुल्य भने पाउन सकेका छैनन ।
पुर्वी पहाडी जिल्लामा गोलिया निकासीमा वृद्धी भएको हाे । नीजी आवादी जग्गाबाट विक्रि गरिएका गोलिया प्रति क्युविक फिट एक सय पचास रुपैयाँमा विक्रि हुने गरेको छ । किसानले उत्तिस, मलातो, चिलाउने, सिरिस र सीमललाई नीजी नम्बरी जग्गामा उत्पादनगरि विक्रि गर्ने गर्छन् ।
गोलिया ढुवानीका लागि गाडि भाडामा नै बढी खर्च हुने भएकाले गोलिया ठेकेदार मार्फत न्युन रकम किसानको हातमा पुग्ने गरेको हो । गोलिया ठेकेदारले मुल्य अभिवृद्धि कर बुझाएर छोडपुर्जि लिएर तराइका जिल्लामा निकासी गर्दै आएका छन् । गोलियाबाट उत्पादित कच्चा भेनियर सुकाउनका लागि तराइमा सजिलो हुने र वन ऐन अनुसार उपयुक्त स्थान नभएकाले निकासी गर्न वाध्य भएको व्यवसायिहरु बताउँछन् ।
गत आर्थिक बर्षमात्रै इलाम जिल्लाबाट बार्षिक रुपमा नीजी आवादी जग्गाबाट २८ लाख क्युविक फिट र सामुदायिक बनबाट ६५ हजार क्युविक फिटको गोलिया झापा लगायतका तराइका जिल्लामा निकासी भएको थियो ।
इलामका किसानले नगदेबालीकै रूपमा रूख लगाउने गरेका छन् । १० देखि १५ वर्षमा उत्पादन दिने उत्तिस, मलातो जातका बिरुवा लगाइएपछि काठ निकासी बढेको डिभिजन वन कार्यालय इलामका सूचना अधिकारी यम बहादुर रुम्बाले जानकारी दिए ।
गोलिया निकासीका कारण दैनिक साढे आठ सय मजदुरले रोजगारी पाएका छन भने बार्षिक एक अर्व १२ करोड ५० लाख बराबरको आर्थिक कारोबार भएको रुम्बाले बताए । इलाम जिल्लामा हाल एक मात्र भेनियर उद्योग संचालनमा रहेको छ ।