भगीरथ भण्डारीइलाम । नगरपालिकाले निमार्ण थालेको अरनिको संग्रहालय नाम मात्रको संग्रहालय बनेको छ । पहिला जिल्ला प्रशासन बसेको भवनलाई संग्रहालयका रूपमा विकास गर्ने काम भए पनि व्यवस्थित बनाउन नसक्दा संग्रहालय नाम मात्रको बनेको हो ।
नगरपालिकाले ऐतिहासिकता झल्काउँदै पर्यटकीय आकर्षण थप्ने उद्देश्यले सदरमुकाममा रहेको एकसय वर्ष पुरानो राणाकालीन दरबारलाई अरनिको संग्रहालय बनाइने भनेर काम थालेको थियो ।
भवनलाई सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेसँगै संग्रहालय निर्माण गर्न योजना बनाएर काम थाले पनि कामले गति लिन नसक्दा नाम मात्रको बनेको स्थानीय रमेश श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म संग्रहालयमा भनेर कोही पनि आएको पाइँदैन, गर्छु भनेर हल्ला मात्र गररे त संग्रहालय बन्ला जस्तो लाग्दैन ।’
जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा संग्रहालय बनाउनको लागि नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष पनि नगरपालिकाको संग्रहालय निर्माणका लागि १० लाख बजेट विनियोजन गरेको इलाम नगरपालिकाकी उपप्रमुख शुसीला नेम्वाङले बताउनुभयो ।
संग्रहालयको गेटबाट पस्ने बित्तिकै फोहोर देखिन्छ । दायाँ र बाँया झारले भरिएको छ भने भवन वरपर जंगलघारी बनेको छ । पहिला प्रशासनको भवन भएको हुँदा धेरै मर्मत गर्नुपर्ने थिएन तर अघिल्लो वर्षको १५ लाख सकियो अहिले पनि १० लाख छुट्टिएर काम भइरहेको छ, तर पनि काम अघि बढ्न सकेको छैन । नगरपालिकाले संग्रहालय निर्माणका लागि अरनिको संग्रहालय समितिलाई जिम्मा दिएको अरनिको संग्रहालयका सचिव दिवाकर भण्डारीले बताउनुभयो ।
राणा प्रधानमन्त्री जंगबहादुर राणाको पालामा इलाममा बडाहाकिम भएर आएका उनका ज्वाइँ गजराजसिंह थापाको कार्यकालमा दरबार बनेको हो । गजराजसिंह थापाले १९१९ सालदेखि १९४२ सम्म इलामको प्रशासन सम्हालेका थिए । दरबार १९२० को दशकमा बनेको बताइन्छ ।